छिन छिनमै बदलिन्छ जसपा, राजनीतिमा जे पनि हुन्छ ?

काठमाडाैं । हाल जनता समाजवादी  पार्टीको राजनीति जस्तो पनि हुनसक्छ भनेजस्तो हुनपुगेको छ । केही समयअघि कांग्रेस कि एमालेको भूतसवार भएकाे जसपा एक किसिमले  विभाजनकै संघारमा पुगेको  थियाे । अहिले  फेरि  जनता समाजवादी पार्टी मेलमिलापको अवस्थामा छ । केही दिनअघि संसदीय दलको नेता चयन पनि रातारात भएपछि पार्टी फूटको संघारमा पुगेकाे थियाे ।   अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै हामी मिल्यौं अब झगडा हुन्न भन्ने खाले अभिव्यक्ति दिएपछि अचम्म मान्नुपर्ने देखिएको हो ।

यो संकेतको शिकार प्रधानमन्त्री केपी ओली हुनेछन् भने, प्रचण्ड–देउवालाई केहि राहत मिल्ने देखिएको छ। अलग अलग बैठक र अलगअलग वक्तव्य निकाल्दै आएका जसपाको यो सरप्राइजले पुनः जसपा एक हुने रुपमा मात्र नभइ यसलाई राजनीतिमा पनि अर्थपूर्ण रुपमा लिइएको छ। यसले राष्ट्रिय राजनीतिलाई समेत तरंगित गरेको छ। जब ठाकुर र यादवले संयुक्त विज्ञप्ति जारी गरे तब राष्ट्रिय राजनीति तरंगित बन्यो। संयुक्त विज्ञप्तिले हाल जसपा सरकारमा सहभागी नहुने प्रष्टसमेत पारेको छ।

त्यसो त पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क र वितर्क एवं अड्कलबाजी भइरहेका छन्। जसपा ठाकुर–महतो पक्षले ओलीलाई ग्रिन सिग्नल दिएका कारण यो बहस उठेको हो।  तर, मंगलबार जारी गरिएको संयुक्त विज्ञप्तिमा तत्काल जसपा सरकारमा सहभागी नहुने र प्रतिपक्षमै रही आफ्नो भूमिका निर्वाह गर्ने र पार्टीको नीति र निर्णय यथावत रहेको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुने अवस्थामा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ।