कांग्रेसको आरोप : राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संसद विघटन

काठमाडाैं । नेपाली कांग्रेसले विपक्षी दलको गठबन्धन बनाएर संसद विघटनका विरुद्धआवाज  उठाउने भएको छ ।   प्रतिरोधको नेतृत्व   नेपाली कांग्रेसले गर्नेछ ।  आज बसेको कांग्रेस बैठकले यस्ताे निर्णय गरेको हो ।  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलेमतोमा संसद विघटन गरिएको कांग्रेसले आरोप लगाएको छ  । पार्टी सभापति शेरबहादुर देउवा निवासमा डाकिएको शीर्ष नेताको बैठकका निर्णय जानकारी गराउँदै सहमहामन्त्री डा प्रकाशशरण महतले भने, ‘प्रतिनिधि सभा विघटन घोर असंवैधानिक हो। अलोकतान्त्रिक हो। अरु दलहरुसँग पनि सहकार्य गर्दै राजनीतिक प्रतिरोध गर्छौं। न्यायिक उपचार पनि खोज्छौं।’ नेपालको संविधानलाई श्रृङखलावद्ध रुपमा छिया छिया पार्ने कार्यमा प्रधानमन्त्री र राष्ट्रपति लागेको कांग्रेसको निष्कर्ष छ।

कांग्रेसले संसद विघटन विरुद्ध सुरक्षित रहेर भ्रातृ संस्थालाई विरोध गर्न पनि दिर्नेशन दिएको छ। ‘संविधानको रक्षाका लागि सबै लडाइँ लड्छौं। विपक्षी दल सबैसँग सहकार्य गरी लडाइँ अगाडि बढाउँछौं,’ महतले भने, ‘संसद विघटनको प्रतिरोध गर्न भ्रातृ संस्थालाई पनि निर्देशन दिने। कोरानाको समयमा सुरक्षित रहेर प्रतिरोध भ्रातृ संस्थाले गर्नेछन्।’