मधेसको मुद्दा महन्थ महतोहरूकाे मोजमा स्वाहा

देशको हरेक निकायमा मधेसी समुदायको समानुपातिक सहभागिता नहुन्जेलसम्म आफूहरूको आन्दोलन जारी रहने मधेसी नेताहरुले उल्लेख गरेका थिए । अहिले मधेसको मुद्दा भनेको मधेसी नेताहरुले कसरी राजसी सुख पाउँछन् भन्ने रहेको छ ।संविधानमा मधेसीको पहिचान कतै पनि उल्लेख नभएकाले संविधान संशोधन अपरिहार्य भन्ने मत राखेका मधेसी नेताहरु दुई कित्तामा बाँढिएका छन् । उनीहरु आआफ्ना स्वार्थको लागि लडिरहेका छन् । मधेसको मुद्दाको जतिसुकै वकालत गरे पनि मूलभूत रुपमा मधेसी नेताहरुको स्वार्थपूर्ति नै हो ।

पहिले नेपालका दलितहरुले उच्च तहमा दलित नपुगेसम्म देशमा लोकतन्त्र स्थापित हुनै सक्दैन भन्ने गर्दथे । माओवादीको हातमा हतियार हुने समयसम्म माओवादीले पनि यस्तै भन्न्े गरेको थियो । संघीयता धर्म निरपेक्षता , जातीय राज्यको नाममा माओवादीले निकै रक्तपात गर्यो । मधेसीहरुले गरेको आन्दोलनमा पनि निकै मधेसी जनताले बलिदानी दिइसकेका छन् । मधेसी नेताहरुले जुनरुपमा आफ्ना माग उठाउनु पथ्र्यो, त्यो उठाएनन् । मन्त्री खान पाउने बित्तिकै लुसुक्क एक्लिनु कुनै नौलो कुरा होइन मधेसी नेताहरुको लागि । यस्तो अवस्था छ राजनीतिको, तर मधेसी जनताहरु भने आफूले भोट दिएर पठाएका नेताले मधेसको साँच्चैको दुरावस्था हल गर्लान् भनेर कुरिरहेका छन् । मैले विगत १५ वर्षमा मधेसी नेताले मधेसको शिक्षा, स्वास्थ्य, रोजगार, बाढी आदिका मुद्दाका बारेमा बहस गरेको खासै सुनेको छैन । सँधै मधेसी नेतालाई हेपियो । हाम्रो अपमान भयो । हेलिकप्टर चढेर भूकम्पको दृश्य हेर्न जान पाइएन । मधेसी नेताको काठमाडौंमा मार्बलवाला घर भएन । यस्तै यस्तै मात्र सुनेको छु । सायद कान नपुगेको पनि होला । मधेसको गरिबी, अशिक्षा, पीडाको बारेमा मधेसी नेताहरु बोल्दै बोल्दैनन् ।

हो, राजनैतिक रुपमा मधेस र मधेसीलाई नेपालले आफ्नो स्वीकार गरेको अवस्था थिएन। मधेस आन्दोलनले मधेसीलाई नेपाली भएको अपनत्व पक्कै दिएको छ । आन्देलन अघिसम्म आफ्नै मुलुकभित्र विभेदपूर्ण व्यवहार भोग्न बाध्य थिए मधेसी। यसलाई भुल्न हुन्न । तर, आज मधेसी नेताको विलासी शैली हेर्ने हो भने मधेस आन्दोलनका मुद्दा त्यसै तुहिएर गएको अनुभव हुन्छ । महन्थ महतोहरु मात्तिएका छन् सत्ताका आडमा । तिनले मधेस बिर्सिसकेका छन् । उपेन्द्र, हृदयेशहरुलाई मन्त्री बन्नमै फुर्सद छैन । लोभ लालसाले गर्दा मधेसी जनताले असलमा विकास र सुखको प्रत्याभूति गर्न सकेका छैनन् । बाबुरामजी मधेसी मुद्दामा आएर बिलाए पनि तिनलाई न मधेसीले विश्वास गरेको छ । न त मधेसका नेताले नै टेरपुच्छर लाएका छन् । ती हरिलठ्क पाराले ट्वीटरमा भटभटाउँछन् मात्र । मधेसी जनताको लागि आज समय फेरिए पनि आज समय फेरिएको छ भन्ने हेक्का नै छैन । मधेसमा उकुसमुकुसको अवस्था अझै कायमै छ । त्यही उकुसमुकुसमा मधेसी जनता बाँचिरहेका छन् । जस्तो पन्ध्र वर्ष अघि थियो । मधेसी जनताले मधेसी नेतालाई नै प्रश्न गर्ने बेला आएको छ ।

मधेसी जनताको अन्दोलनले के पायो भनेर प्रश्न गर्ने हो भने मधेस आन्दोलनको उपलब्धि संघीयता हो भन्ने सहज उत्तर आउँछ नै । संघीयताकै कुरा गर्ने हो भने नेपालको सन्दर्भमा यो असफल भइसकेको छ । यसलाई मिहीन ढंगले बिचार गर्ने हो भने मधेस आन्दोलनको उपदब्धी जनताको बर्बादी नै भयो भन्दा अनुचति नहोला । मधेसी नेताहारु गाँड फुट्ने गरी कराइरहेका छन्, आज संघीयता ल्याउने भनेको त्यो मधेसको भूमि हो। उनीहरु यत्तिले रोकिँदैनन् समावेशिताका सबालमा पनि आवाज उठ्यो भनी कराइरहन्छन् । तर, मधेसी जनताले साँच्चै समावेशिता पाए त । तिमी मन्त्री भयौ भन्दैमा मधेसी जनताले समावेशिता पाए भनेर विश्वास कसरी गर्ने ? हो, सैद्धान्तिक रूपमा यो मुद्दा सम्बोधन भएकै हो ।कागजका पानहरुको समावेशिता मधेसी जनताले पाए कि पाएनन् त ? यसको उत्तर छ मधेसी नेतासँग ? गणतन्त्रसँगसँगै संघीयता र समावेशिताको सवाल पनि अगाडि बढिरहेकै छ। तर, समावेशिता जो पहिलेदेखिकै जमिन्दार थिए । जसले मभेसी जनतालाई लुटेका छन् मर्न बाध्य बनाएका छन् तिनैलाई पो आयो त । गरिबको घर त अझै अँध्यारो नै छ नि महोदय ?
मधेस आन्दोलनमा ज्यान गुमाउने सहिदहरूको मूल्यांकन मधेसी नेताहरुले गर्नै सकेनन्। घाइतको सहीरूपमा उपचार गर्न सकेनन्। घाइतेका मनमा आज पनि घाउ आलै छ। यसको सम्बोधन मधेसी दलहरूले गरे त ? आजका दिनमा मधेसी दलहरू त सत्ताको न्यानेमा नुहाउन लालायित छन् । मधेसी जनतालाई त हात्ती आयो हात्ती आयो फुस्सा भए जस्तो भएको छ संघीयता, समावेशिता । दहेज प्रथा सकियो ? रोजगरी बढ्यो ? शिक्षमा गुण्स्तर बढ्यो ? छोरीहरु विद्यालय जाने वातावरण बन्यो ? शौचालयहरु बने ? छैन हजूर अर्को चुनावमा सबै बन्छ , सबै हुन्छ ।

मधेसकाे नाममा महन्थ महतोहरूकाे मोज चलिरहेको छ । मधेसी जनताका आकांक्षाहरु यिनै नेताहरुको मोजले उडाइरहेको छ । कहिले देउवासँग टाँसिएर त कहिले ओलीसँग टाँसिएर मधेसको मुद्दा स्वाहा पारिएको तथ्यलाई भुल्न हुन्न । प्रिय मधेसी दाजूभाइहरु दुखको साथ भन्नपर्छ मि तपाईंहरुले जसलाई नेताका रुपमा छान्नुभयो आउने बीस वर्षमा पनि यिनीहरुबाट तपाईंका समस्या समाधान हुँदैनन् । यी जनताका समस्या समाधानका लागि नेता भएकै थिएनन्र यी त सत्ताका नाममा एकिचत्त हुन नेता भएका थिए ।