संक्रमणबाट मृत महिलाको गरगहना अस्पतालबाटै गायब

रुकुम पश्चिम ।  कोरोना सङ्क्रमितले समयमै उपचार नपाएर, गरिबीका कारण ज्यान गुमाएको घटना त सुनिएकै हो । तर कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका व्यक्तिले लगाएको गरगहना र साथमा रहेको नगद अस्पतालबाटै हराएको सुन्दा अचम्म लाग्न सक्छ । हो, रुकुम पश्चिममा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएकी एक महिलाको गरगहना र साथमा रहेको नगद अस्पतालले नदिएको परिवारजनले आरोप लगाएका छन् ।  गएको वैशाख ६ गते जिल्ला अस्पताल सल्लेमा मुसिकोट नगरपालिका वडा नम्वर ७ की एक महिलाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको थियो । वैशाख ४ गते अस्पताल भर्ना भएकी महिलाले लगाएका गरगहना र साथमा रहेको नगद अहिलेसम्म नपाएको परिवारजनले बताएका हुन् ।

‘ज्वरो आएपछि र श्वासप्रश्वासमा गाह्रो भएपछि हामीले तीन दिनअघि बुहारीलाई अस्पताल लगेका थियौँ’, मृतककी ससुरा सरवीर दमाईले  भने , ‘कोरोना सङ्क्रमण भएको रिपोर्ट आएपछि उनलाई आइसोलेशनमा राखियो, हामी बाहिरै बस्यौँ । ६ गते सोमवार बिहान मृत्यु भएपछि पनि हामीले नजिक गएर देख्न पाएनौँ, त्यही दिन बेलुका नेपाली सेनाको टोलीले स्थानीय मुग्लु खोलामा दाहसंस्कार गरेको हो ।’ त्यसको केही दिनपछि अस्पतालमा गएर बुहारीले लगाएको गहना र साथमा रहेको नगदबारे कुरा गर्दा अस्पतालले लुकाएको उनले बताए । समाचार उज्यालो अनलाइनमा राजु लामिछानेले लेखेका छन् ।