गणतन्त्रमा छानबिनसम्म भएन

-भरतपुरमा मतपत्र च्यात्नेहरूलाई कारबाही भयो होला भन्ने मान्नुभो होला, भएन । दुई तिहाइको नेकपाले उल्टै जिल्ला कमिटीमा मनोनित गर्यो र तिनले कार्यकर्तालाई प्रशिक्षण दिए !
-हाकाहाकी घूस मागेको अडियो नै सार्वजनिक भएपछि गोकुल बाँस्कोटामाथि कारबाही भयो होला भन्ने ठान्नुभो होला, भएन । छानबिनसम्म्म भएन । तत्कालीन पार्टी नेता माधव नेपालले कम्तिमा पार्टीभित्रै भएपनि छानबिन गर्ने माग राख्दा, ओलीले ‘त्यो पर्दैन’ भनेको याद नै होला । ओलीले त बाँस्कोटाभन्दा एक कदम अगाडि बढेर भिडियो नक्कली भएको समेत उल्लेख गरे ।
-भूमाफियासँग पारिवारिक दोस्ती, बालुवाटार किन्न सक्ने हैसियत र प्रशस्त पुर्ख्यौली जग्गाजमीन भएर पनि विष्णु पौडेलले नक्कली सुकुम्बासी बनेर सरकारी जग्गा हत्याए । कारबाही भयो भन्ने लागेको होला, छानबिनसम्म भएन । उल्टै योग्यता न क्षमता, सिङ्गो अर्थमन्त्रालय उनकै हातमा दिएर पुरस्कृत गरियो ।
-वाइडबड़ीदेखि स्वास्थ्यसामग्री खरिदसम्म संसदीय समितिले नै अनियमितता भएको ठहर गरेर छानबिन एवं कारबाहीका लागि सिफारिश गर्यो । संसदीय व्यवस्थामा संसदीय समितिले नै निर्देशन दिएपछि भयो होला भन्ने ठान्नुभो होला । भएन ! प्रधानमन्त्री ओली आफैंले अनियमितता नभएको बयान दिए !
-स्वास्थ्यकर्मीमाथि हातपात गर्ने आरोप लागेका मनुष्य पार्टीका स्थानीय नेता नै रहेछन् । कुरो बुझ्दा पटके रहेछन् । मुख्यमन्त्रीको खास मान्छे त उनी आफैंले दाबी गरेका रहेछन्, विज्ञप्तिहरू हेर्दा उनको पहुँच बालुवाटारदेखि शीतलनिवाससम्म भएको बुझिन्छ । आशा गरौँ, ‘भावनात्मक उत्तेजना’ को आड़मा उनले सोझै सफाइ पाउने छैनन् र कम्तीमा वस्तुगत रूपमा छानबिन हुनेछ !
लेख गाउँलेको फेसबुकबाट लिइएको हो ।