रेड पान्डाको छालासहित कैलालीबाट एक जना पक्राउ

धनगढी ।  रेड पान्डाको छालासहित कैलालीबाट एकजना पक्राउ परेका छन् । उनी  दुर्लभ वन्यजन्तुको चोरी सिकारी र  तस्करीको गिरोहमा संलग्नरहेकाे प्रहरीको दाबी छ ।    पक्राउ परेका व्यक्ति बझाङको बित्थड चिर गाउँपालिका ५ देउलेखका २३ वर्षीय अमर धामी रहेका छन् ।  उनी बाट प्रहरीको टोलीले एक थान रेड पान्डाको छाला बरामद गरेको हो । उनलाई मङ्गलवार बिहान सवा १० बजे कैलालीको गोदावरी नगरपालिका ५ स्थित गेटा सामुदायिक वनबाट रेड पान्डाको छाला सहित नियन्त्रणमा लिइएको सङ्घीय प्रहरी इकाई कार्यालय धनगढी हाल महेन्द्रनगरका डिएसपी लक्ष्मण शाहीले बताए ।

कैलालीको अत्तरिया र  आसपासको क्षेत्रबाट दुर्लभ हिमाली वन्यजन्तुको चोरी सिकारी र छाला लगायतका अन्य अङ्गहरूको तस्करी गर्ने गिरोह सक्रिय बनेको गोप्य सूचनाका आधारमा परिचालित सङ्घीय प्रहरी इकाई कार्यालय धनगढी हाल महेन्द्रनगरको प्रहरी टोलीले उनलाई छाला सहित नियन्त्रणमा लिइएको डिएसपी शाहीले बताए । रेड पान्डाको छाला सहित नियन्त्रणमा लिइएका धामीको थप अनुसन्धान सुरु गरिएको डिएसपी शाहीले बताए ।