डेढ वर्षमा तीन स्वास्थ्यमन्त्री फेरिनु बाँदरको हातमा लड्डु भएन र ?

काठमाडाैं । नेपालमा गएको डेढ वर्षमा स्वास्थ्यमन्त्रालयले तीन जना स्वास्थ्यमन्त्री पाए पनि जनताले सुलभ स्वास्थ्य सेवा भने कहिल्यै पाएनन् । हरेक वर्ष स्वार्थको राजनीतिसँग अनुरक्त भएर प्रधानमन्त्रीले मन्त्रालयको जिम्मा फरक व्यक्तिलाई दिइरहन्छन् । तर, जनताले के पाइरहेका छन् भन्नेमा स्वास्थ्यमन्त्रालयले न त अनुगमन नै गरेको छ न प्रधानमन्त्री नै यस विषयमा चिन्तित छन् । स्वास्थ्यमन्त्रालय बाँदरको हातमा लड्डु भएको छ मन्त्रीहरूलाई ।  कोरोना भाइरस गत सय वर्षयताको सबैभन्दा ठूलो महामारी बनेको छ। सन् १९१८ देखि १९२० सम्म विश्वमा फैलिएको स्पेनिस फ्लु ५० करोड मानिसमा संक्रमण भएको थियो भने ५ करोडभन्दा बढीको ज्यान लिएको थियो। सन् २०१९ को अन्त्यदेखि सुरु भएको कोरोना महामारी सोमबारसम्म विश्वमा १७ करोड ३३ लाखमा सरिसकेको छ भने ३७ लाख ३० हजारको ज्यान लिइसकेको छ।

२०७६ माघ १० मा कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएको नेपालमा हालसम्म ५ लाख ९१ हजार संक्रमित भइसकेका छन् भने ७ हजार ९९० ले अकालमा ज्यान गुमाइसकेका छन्। नेपालमा संक्रमण दर अझै पनि २५ देखि ३० प्रतिशत हाराहारीमा छ। यो दर महामारी फैलावटको हिसाबले उच्च हो । हाल संक्रमण सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी फैलिएको छ। अधिकांश जिल्लामा विगत ८ सातादेखि निषेधाज्ञा जारी छ । पछिल्ला दिनमा कोरोना भाइरसको मृत्युदर १.६ प्रतिशतमा उक्लेको छ ।   जनस्वास्थ्यको यस्तो चरम संकटका बेला स्वास्थ्य मन्त्रालयले नेतृत्वदायी भूमिका खेल्न नसकेको भनी आलोचना भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी सुरु भएको डेढ वर्षमा गत साता तेस्रो स्वास्थ्यमन्त्री नियुक्त गरेका छन् ।
यसरी महामारी नियन्त्रणमा केन्द्रीय र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व महामारीबीच तेस्रो पटक परिवर्तन भएको छ । गत पुस १० मा नियुक्त भएका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी ६ महिना नपुग्दै बाहिरिएका छन् ।  उनलाई गत साता गरिएको मन्त्रिमण्डल हेरफेरका क्रममा शेरबहादुर तामाङले प्रतिस्थापन गरेका छन्। त्यसअघि भानुभक्त ढकालले एक वर्षजति मन्त्रालयको नेतृत्व सम्हालेका थिए।  त्यसो त ओलीले ३ वर्षमा ५ पटक स्वास्थ्यमन्त्री फेरेका छन् ।  संसद्को लगभग दुईतिहाइ सदस्यको समर्थनमा सरकार गठन गरेका प्रधानमन्त्री ओलीले २०७४ चैत २ गते पद्मा अर्याललाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए । अर्यालले मन्त्रीसरहको अधिकार प्राप्त गरेकी थिइन् । अर्यालले एक वर्षभन्दा बढी नेतृत्व सम्हालेपछि २०७५ जेठमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री नियुक्त भएका थिए । त्यसपछि २०७६ मंसिरमा स्वास्थ्यमन्त्रीको जिम्मा भानुभक्त ढकालले लिएका थिए । नागरिक देनिकबाट ।