भारतबाट जमिन्दार र हरुवा चरुवाको सम्बन्ध चाहन्नौं : उपेन्द्र यादव

काठमाडाैं । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले भारत र नेपाालको सम्बन्ध मालिक र गुलामको जस्तो हुन नदिने बताएका छन् । उनले   नेपालको आन्तरिक मामिलामा निर्णय गर्ने अधिकार नेपालीहरुकै भएको कारण कुनै पनि राजनैतिक मुद्दामा ज्यादा बल गर्न खोज्ने भारतीय रबैयाको निन्दा गरेका छन् । जमिन्दार र हरुवा चरुवाको सम्बन्ध जस्तो सम्बन्ध बनाउन खोजेको हो भने टाढै बस्दा हुने   यादवले बताएका छन्  । मित्रता र दासत्वमा फरक रहने भन्दै उनले आफूहरुले सबै देशसँग मित्रता, सहयोग र सद्भाव चाहेको पनि उनले बताए ।

उनले भनेका छन् ‘मेरो मित्र हुनुहुन्छ । तपाईंको घरमा मैले खटनपटन गर्न चाहेँ भन्ने स्वीकार गर्नुहुन्छ ? स्वीकार गर्नु हुन्न नि !’ उनले अघि भने,  ‘यस्तो मित्र चाहिँदैन भनेर लठी लिएर आउनुहुन्छ नि ! अहिलेको सवाल यही हो ।’ आन्तरिक मामिलामा निर्णय गर्ने अधिकार नेपालीकै भएकाले त्यो कुनै हालतमा नछाड्ने भन्दै यादवले भने, ‘यो अधिकार छाडेर कस्तो मित्रता हुन्छ ? मालिक र गुलामको सम्बन्ध हुन्छ । जमिन्दार र हरुवा चरुवाको सम्बन्ध हुन्छ । र, यसबाट भारतलाई पनि फाइदा हुँदैन ।’ मित्रवत सम्बन्ध नै भारतको हितमा हुने उनले बताएका छन् ।

आफ्नै पार्टीका महन्थ ठाकुर पक्षका नेताहरु तर्फ संकेत गर्दै उनले विहान साँझ नै (भारतीय) दूतावासमा जाने गरेको बताए । कोही दिल्ली, पटनासमेत गएको भन्दै यादवले यस्ता गतिविधिले भारतको समेत हित नहुने बताएका छन् । उनले नेपालीको अहित हुने काम नगर्न भारसँग अपिल पनि गरेका छन् । आफूहरु संघीयता, लोकतन्त्र र राष्ट्रको हितमा खडा भएको भएको भन्दै यादवले आफूहरु कसैको विरोधी वा पक्षधर नभएको बताए । ‘जसलाई गुलाम बन्नुछ बनोस्, हामीलाई केही भन्नु छैन’ उनले भने, ‘हामी नो प्रो चीन, नो प्रो इन्डियन । हामी त प्रो नेपाली, प्रो मधेसी ।’