असारे विकासको नमुना सडक

सिन्धुली । असारे विकासको दुर्दशा दुधौली नगरपालिकाको वडा नम्बर १० देखि वडा नम्बर १३ को ठाकुरदमारसम्मको सडकमा देखिएको छ । असार लागेपछि पिच गरिएको सो सडक निरन्तरको वर्षाले भासिनुका साथै पिचसमेत भत्किएको छ ।

ग्रामीण कृषि सडकअन्तर्गत सो सडक डोलिडारको २५ करोड ८० लाख रुपैयाँ लगानीमा बन्दै थियो । पानी जमेपछि सडक भत्किएको स्थानीयले बताएका छन् ।

दुधौलीको लखिमादेखि ठाकुरदमारसम्मको कालोपत्रे सडकअन्तर्गत वडा नम्बर १३ को कामीटारमा सडकको कालोपत्रे सबै भत्किएको छ ।

यो सडक निर्माणको चरणमै रहेको थियो । १२।५ किलोमिटर निर्माण भइसकेको निर्माण कम्पनीले जनाएको छ । ५ सय मिटर सडक निर्माण र केही अन्य काम बाँकी रहेको थियो । सो सडक निर्माणको अवधि २०७८ पुस मसान्तसम्म रहेको निर्माण कम्पनीले जनाएको छ । १५ पुस २०७५ बाट निर्माण भइरहेको सो सडक हस्तान्तरण गर्न बाँकी नै रहेको थियो ।

सडक दुुई ठाउँमा भत्किएको छ । एक ठाउँमा ७० मिटर र अर्को ठाउँमा २ सय ९० मिटर सडक धुजाधुजा भएर भत्किएको छ । कामीटारमा रहेको खोल्सीको होम पाइप पहिरोले थुनिएपछि सडकमाथि बाढी आउँदा सडक भत्किएको निर्माण व्यवसायी छेत्रबहादुर बम्जनले बताए । यद्यपि, स्थानीयले भने सो सडक कमजोर निर्माण र असारे विकासको प्रभावले भत्किएको आरोप लगाएका छन् । उनीहरूले सडक भासिएको र चिराचिरा परेको बताएका छन् । राजधानी दैनिकबाट ।

ताजा अपडेट