नक्कली डीएसपीले अख्तियारको हवाला दिँदै हिँड्दा पक्राउ


काठमाडाैं । नक्कली डीएसपीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको बताउँदै हिँड्दा प्रहरीले पक्राउ गरेको छ । आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीएसपीको रुपमा चिनाएर रवाफ देखाउँदै हिँड्ने एक व्यक्ति पक्राउ परेका हुन् । एग्रोमाट नेपाल भैसेपाटी ललितपुरका अध्यक्ष अर्जुन भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो  

एमपी इन्टरप्राइजेज ललितपुरको पुँजी वृद्धि गर्नका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा गइ उनले आफूलाई अख्तियारको डीएसपीको रुपमा चिनाउँदै महानिर्देशक तथा अन्य कर्मचारीहरुलाई काम गर्न अनावश्यक दवाव दिएका थिए । तर उनी अख्तियारको डीएसपी नभएको पाइएको छ । 

यस्तै उनले विभिन्न स्थानमा नेपाल चेम्बर अफ कर्मशको अध्यक्ष, राष्ट्रिय कृषि बिकास कम्पनीको सीईओ एवं माथिल्लो तहका व्यक्तिहरुसँग समेत सम्पर्क भन्दै हिँड्ने गरेको सूचनाका आधारमा अख्तियारको टोलीले  विभागबाटै  नियन्त्रणमा लिएको हो ।  उनलाई अनुसन्धान तथा कारवाहीको लागि महानगरीय अपराध महाशाखामा बुझाइएको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।