‘ओलीले जति गाली गरे पनि पार्टी एकता होस् भन्ने पक्षमा छु’

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीले आफूलाई जति गाली गरे पनि निरन्तर एकताकै पक्षमा लाग्ने बताएका छन्। केन्द्रीय समिति सदस्यहरूको बैठक समापन गर्दै नेपालले अध्यक्ष ओलीले आफूलाई जति गाली गरेपछि एकताबाट पछि नहट्ने बताएका हुन्।

‘हामीले आलोचना गर्दा संयमित र जिम्मेवार बन्नुपर्छ। दक्षिणपन्थी विचारका विरुद्ध हामीले संघर्ष गर्दै आएका छौँ। यसका लागि हामी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ,’ नेपालले बैठकमा राखेको भनाइ उद्धृत गर्दै नेता रघुजी पन्तले भने, ‘केपी ओलीले मलाई अहिले जति गाली गरे पनि म पार्टी एकता होस् भन्ने पक्षमा छु। एकताका लागि मेरो प्रयत्न जारी छ, जारी रहन्छ।’

नेपालले बैठकमा धेरैले ओलीले एकताको नाममा अलमल्याउन खोजेको आशंका गरे पनि यस पटक भने त्यस्तो नगर्नेमा विश्वास गरिरहेको पनि बताएका थिए। ‘केपी ओलीले एकताको नाममा अलमल्याउन खोजेको त होइन भन्ने आशंका धेरै साथीहरूले गर्नुभएको छ । तर, म त्यस्तो नहोला भन्ने ठान्छु र एकतामै जोड दिन चाहन्छु,’ नेपालको भनाइ उद्धृत गर्दै पन्तले भने, ‘उहाँले आफ्नो मनोबल र उत्साहलाई कायम राख्दै हामीले एकताका लागि प्रयास जारी राखौं, एकताको प्रयास चलिरहेका वेला हामीले एकतामै जोड दिनुपर्छ भन्नुभएको छ ।’