सकभर भोलि नै सरकारलाई पूर्णता दिने गठबन्धनको तयारी

काठमाडाैं । प्रमुख तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच एक–दुई दिनमै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । सकभर भोलि नै सरकारलाई पूर्णता दिने गरी सत्ता गठबन्धनबीच छलफल शुरू भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच यथाशीघ्र मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल भएको हो । 

‘प्रधानमन्त्री नियुक्त भएको डेढ महिनासम्म सरकारलाई पूर्णता दिन नसकेको भनेर आलोचना भयो । मन्त्रीहरू नहुँदा नियमित प्रशासनिक काम पनि रोकिएकाले यथाशीघ्र मन्त्रिपरिषद् विस्तार गर्नेबारे सहमति भएको छ,’ बालुवाटारमा भएको बैठकबारे माधव नेपाल निकट स्रोतले भन्यो । आइतवारको भेटमा मन्त्रालयको संख्याको विषयमा मोटामोटी सहमति भएको स्रोतले बतायो । 

नेता नेपालको पार्टीले आधिकारिकता पाएसँगै मन्त्रिपरिषद् विस्तार हुने माओवादी अध्यक्ष प्रचण्डले बताउँदै आएका थिए । माधव नेपालले संसदीय दलको बैठकमा निर्णय गरेर सरकारमा सहभागी हुने मन्त्रीको नाम दिने स्रोतले बतायो । नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक आइतवार मध्यान्ह बसिरहेको छ । 

जसपाका नेताहरू पार्टी प्रशिक्षणको सिलसिलामा काठमाडौं बाहिर रहेका कारण उनीहरू फर्केपछि आजभोलिमै मन्त्रिपरिषद् विस्तारको तयारी रहेको स्रोतले बतायो । अध्यक्ष यादवले १४ गतेसम्म फर्किन आग्रह गरेका थिए । 

असार २९ गते प्रधानमन्त्रीको शपथ लिएर ४ जना मन्त्री नियुक्त गरे पनि देउवाले डेढ महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । सत्तारुढ दलले सरकारका साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।