हतियारसहित दुईजना पक्राउ

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार कानेपोखरी गाँउपालिकामा मंगलबार राति रुद्रबहादुसर क्षेत्रीलाई पेस्तोलसहित पक्राउ गरिएको हो।

हतियार लुकाएर राखेको सूचनाका आधारमा ३० वर्षीय क्षेत्रीलाई प्रहरीले घरबाटै पक्राउ गरेको उनले बताए। उनको घरमा ‘मेड इन युएसए’ लेखिएको एउटा पेस्तोल, तीन राउण्ड गोली र एउटा खुकुरी फेला परेको छ।

सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरीशनिश्चरे र प्रहरी चौकी रमाइलोको संयुक्त टोलीले घरमा छापा मारेर क्षेत्रीलाई पक्राउ गरेको हो। क्षेत्रीसँगै स्थानीय ३० वर्षीय पूर्णबहादुर बोहोरालाई समेत प्रहरीले पक्राउ गरेको छ।

दुवैजनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पथरीमा राखिएको मोरङ प्रहरीका प्रवक्ता श्रेष्ठले जानकारी दिए।