जुम्लामा एमालेलाई लाग्यो झट्का, जिल्ला समिति नै नेकपा एसमा

काठमाडौं । जुम्लामा एमालेको सिंगो पार्टी पङ्क्तिले नेकपा एकीकृत समाजवादी  रोजेका छन् । कुल ६१ जना जिल्ला समिति सदस्यमा दुई जना निर्वाचित  जनप्रतिनिधि र एकजना मनोनित सदस्य बाहेक अन्य सबैले एकीकृत समाजवादी रोजेका हुन् । नेकपा एमालेतिर हाल मेनका पछाई, लाल भट्टराई लगायतका नेताहरु उभिएका छन् । 

जिल्ला अध्यक्ष तीर्थबहादुर बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदीप्रसाद न्यौपाने र उपसचिव राजबहादुर शाहीले संयुक्त विज्ञप्ति निकालेर सिङ्गो एमाले जिल्ला कमिटी समाजवादी पार्टीमा रुपान्तरण भइसकेको जानकारी दिएका छन्  । यसअघि जुम्लाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने पदमबहादुर रोकायाले प्रदेश निर्वाचन कार्यालयमा गएर समाजवादीमा सनाखत गरिसकेका छन् ।

 धीर बोहोरा मनोनित सदस्य भएकोमा पार्टीले  यसअघि निष्काशन गरिसकेको थियो । योसँगै युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, प्राध्यापक संघ ,शिक्षक संगठन, निजामति कर्मचारी संगठन र त्रिवि मातहतका सबै संगठन समाजवादी लागेको एकीकृत समाजवादीले दावी गरेको छ।