ओलीले दिए माधव नेपाललाई दुध चोर्ने बिरालोको उपमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हाम्रो घरको बिरालो शेर बहादुर देउवाको भान्छामा दुध खान गएका छन् भनी माधव नेपालको आलोचना गरेका छन् । उनले दुध चोर्ने बिरालोको उपमा दिँदै माधव नेपालको चर्को आलोचना गरेका हुन् ।

काठमाडौं महानगर कमिटीले राष्ट्रिय सभागृहमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा  सम्बोधनको क्रममा ओलीले माधव नेपालको चर्को आलोचना गरेका थिए । माधव नेपाल राजालाई दाम चढाउन गएकोदेखि लाजशरम पचेको व्यक्ति भएकोसम्म ओलीले आरोप लगाए । 

‘कहिले सामन्ती राजाको वरिपरि परिक्रमा गरेर दाम चढाएर पनि ढोगेको छ । पत्र मञ्जुसामा प्रधानमन्त्री हुन पाउँ भनेर निवेदन पनि हालेको छ,’ ओलीले भने, ‘मौका मिल्दा बुद्धिस्ट संगठनको अध्यक्ष पनि भएको छ । दक्षिणा प्राप्त हुन्छ भनेरै गएका हुन् ।’

वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन सहयोग गरेर अहिले क्रान्तिको कुरा गरेको उल्लेख गर्दै ओलीले भने, ‘यति साह्रो लाच पचेका, शरम पचेका माधव नेपाल जस्तो मान्छे मैल अहिलेसम्म देखेको छैन । अस्तिसम्म जुन खाटमा बसेका थिए त्यसैमा बन्चरो हानेका छन् । जुन पिर्कामा बसेका छन् त्यसैलाई भाँचेका छन् । जुन मन्दिरमा पूजा गर्थे त्यही मन्दिरमा थुकिरहेका छन् । अनि यिनले क्रान्तिका कुरा गर्ने ?’

माधव नेपालले एमालेको नेतृत्व गर्दा पार्टीलाई ३३ सिटमा खुम्च्याएको र आफैंले मुख देखाउन नसक्ने भए भनेर राजीनामा दिएर हिँडेको ओलीले बताए । 

अब पनि माधव नेपालले बनाएको पार्टीमा उनी एक्लै मात्रै रहने उल्लेख गरेका ओलीले भने, ‘अन्तिममा पनि माधव नेपाल पार्टी मात्रै रहन्छ । माधव नेपाल एकीकृत नै रहन्छन् ।’