भारतसँगको मैत्रीपूर्ण फुटबलमा पराजित भयो नेपाल

काठमाडौं । भारतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा भारतले २–१ गोल अन्तरले नेपाललाई पराजित गरेको हो ।

भारतको जीतमा भारतीय कप्तान सुनिल क्षेत्री र परिवर्तित खेलाडी फारुख हाजी चौधरीले १/१ गोल गरे भने नेपालका तेज तमाङले १ गोल फर्काए ।

दुवै टोली पहिलो हाफमा भने गोलरहित बराबरी खेलेका थिए। दोस्रो हाफको ६२ औँ मिनेटमा भारतका चौधरीले पहिलो गोल गरेका थिए । त्यसैगरी खेलको ८० औँ मिनेटमा कप्तान क्षेत्रीले गोल गर्दै भारतको अग्रता दोब्बर बनाएका थिए ।

खेल सकिन ५ मिनेट बाँकी रहँदा नेपालका तेज तमाङले १ गोल फर्काए । तमाङ राष्ट्रिय फुटबल टिमबाट पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भए ।

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले भारतलाई मैत्रीपूर्ण फुटबल खेलका लागि काठमाडौंमा निमान्त्रणा गरेको थियो । भारतविरुद्ध मैत्रीपूर्ण फुटबल खेलेर साफको अन्तिम तयारीमा लाग्ने नेपालको योजना छ ।

नेपालले पहिलो खेलको तुलनामा सुधारिएको प्रदर्शन गर्दै भारतमाथि दबाब सिर्जना गरे पनि जीत भने हासिल गर्न सकेन ।

यसअघि गत बिहीबार पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । बिहीबार भएको खेलमा नेपालका लागि अन्जन विष्टको गोलमा अग्रता लिदा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काएका थिए । तर दोस्रो खेलमा भने नेपाल पराजित भएको छ ।