कस्तो छ चितवनमा एमाले महाधिवेशनको तयारी, सवै दललाई निम्तो माधवलाई छुट्याईयो


चितवन । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले महाधिवेशनको तयारी शतप्रतिशत नजिक भएको बताएका छन् । महाधिवेशन तयारीका सन्दर्भमा महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा आज आयोजित पत्रकार सम्मेलनमा भट्टराईले सो कुरा बताएका हुन् ।

प्रेस चौतारी चितवनले महाधिवेशन उद्घाटन स्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख भट्टराईले महाधिवेशन उद्घाटन सत्रमा मानव सागर उर्लिने समेत बताए । साथै सभामा ५ लाखको जनसहभागिता रहने दाबी समेत गरे। एमालेले नवलपुरको गैँडाकोट सहित चितवनका विभिन्न ७ स्थानबाट विशाल जुलुस निकाल्ने बताएको छ । चितवनमा मात्रै ५० भन्दा बढी स्वागतद्वार बनाइएको प्रचार विभाग प्रमुख भट्टराईले बताए ।

बन्दसत्रको हल बनाउने तयारी पनि सकिएको पनि उनले जानकारी दिए । महाधिवेशनको उद्घाटन सत्रमा सबै सहभागी आइपुग्न नसक्ने भएकोले ठुलठुला डिजिटल स्क्रिनमार्फत कार्यक्रमको लाइभ देखाइने प्रचार विभाग प्रमुख भट्टराईले बताए । नारायणी नदी पारी नवलपुरको गैँडाकोट र नारायणगढका विभिन्न स्थानमा डिजिटल बोर्ड राखिने उनको भनाइ छ ।

चितवनमा बढी भन्दा बढी जनसहभागिता गराउन जिल्लाका विभिन्न ठाउँमा जनताको घरघरमा एमालेका नेता कार्यकर्ता पुगेर निम्ता गरेको नेता भट्टराईले बताए । एमाले उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक परिचालन गरिएको एमालेले जनाएको छ । उनीहरूलाई उद्घाटन सत्र र सडकमा परिचालन गरिने उनको भनाइ छ ।

महाधिवेशनमा भारत, बङ्गलादेश, श्रीलङ्का कम्बोडिया लगायतका देशबाट प्रतिनिधि सहभागी हुनेछन् । चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश आएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । भूगोल, जनसङ्गठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र ५ प्रतिशत मनोनीत १०६ जना गरी दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनमा १०३ जना पर्यवेक्षक रहनेछन् । एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन् ।

कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित रहेका छन् । महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी भएको प्रचार विभाग प्रमुख भट्टराईले बताए । एमाले महाधिवेशन प्रतिनिधिका लागि मङ्सिर १० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको छ । भोलि शुक्रवार बेलुका मात्रै प्रतिनिधि परिचयपत्र बाँडिने छ । मङ्सिर ११ गते बिहान ८।३० बजेबाट बन्दसत्र सुरु हुने कार्यक्रम तय गरिएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए ।

बन्दसत्रमा एमाले अध्यक्ष केपी ओली र विदेशी पाहुनाहरूले सम्बोधन गर्नेछन् । मङ्सिर ११ गते बेलुका साँझ ६ बजेसम्म उम्मेदवार दर्ता, दाबी विरोध र फिर्ताको समय निर्वाचन आयोगले बनाएको छ । सोही दिन साँझ ६।३० उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

एमालेले महाधिवेशन पछि पार्टीलाई चुनावको तयारीमा लैजाने बताएको छ । प्रचार विभाग प्रमुख भट्टराईले महाधिवेशन पछि एमाले आगामी स्थानीय, प्रदेश र सङ्घको चुनावमा केन्द्रित भएर जनताको बीचमा जाने बताउनुभयो । उहाँले अहिलेको महाधिवेशनले अन्तर्विरोधलाई हल गरेर बलियो एकता कायम हुने बताए ।

त्यस्तै, एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा चितवन पुग्ने छन् । जनता समाज पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा महाधिवेशनको उद्घाटन समारोहमा आउने एमाले प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए । नेकपा एकीकृत (समाजवादी) लाई निम्ता नदिएको एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने निम्ता दिएको छ ।

ताजा अपडेट