राष्ट्रिय सम्मेलनका रुपमा माओवादी केन्द्रको आठौं महाधिवेशन आजबाट


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनका रुपमा आठौं महाधिवेशन आजबाट शुरु गर्ने भएको छ । राष्ट्रिय सम्मेलनका रुपमा चर्चा चलाए पनि माओवादी केन्द्रले सम्मेलनलाई अधिवेशनका रुपमा परिणत गरेको छ ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको हलमा पाँच दिनसम्म चल्ने सो सम्मेलनलाई महाधिवेशनको परिणत गरिएको माओवादी केन्द्रका नेता नारायाण्काजी श्रेष्ठले बताएका छन् । प्रथम राष्ट्रिय सम्मेलन गर्ने भने पनि वडा तहदेखि नै माओवादी केन्द्रले सबै प्रक्रिया सम्पन्न गरेको र महाधिवशेन गर्नैपर्ने संवैधानिक व्यवस्थाका कारण यसलाई आठौँ महाधिवेशनका रूपमा सम्पन्न गर्न लागिएको समेत श्रेष्ठले बताएका छन् ।

आइतबार उद्घाटन हुने महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरू राजधानी आइपुग्ने क्रम जारी छ । माओवादी केन्द्रले विभिन्न कमिटीबाट सहभागी हुने प्रतिनिधिको संख्या यसअघि नै टुंग्याइसकेको छ । जसमा सम्मेलन आयोजक समितिका एक सय ७९, सल्लाहकार समितिका एक सय ४९, ज्येष्ठ कम्युनिस्ट समितिका एक सय २५, विभिन्न आयोगबाट ७५ जना, केन्द्रीय विभागबाट एक सय दुईजना र केन्द्रीय प्रतिनिधि २७ जना सहभागी हुनेछन् ।

त्यस्तै, प्रदेशहरूबाट आठ सय तीनजना छनोट भएर आउनेछन् । प्रदेश १ बाट ९६, प्रदेश २ बाट एक सय ६, बागमतीबाट एक सय २८, गण्डकीबाट ७४, लुम्बिनीबाट एक सय पाँच, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, प्रवासबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्पर्क समन्वय समितिहरूबाट ४३ जना सहभागी हुनेछन् । यसरी नियमित प्रक्रियाबाट १४ सय ८३ र त्यसको १० प्रतिशत मनोनयन अध्यक्ष प्रचण्डले गरेपछि  थप एक सय ४८ जना प्रतिनिधि महाधिवेशनमा उपस्थित हुनेछन् ।