मेरो कुनै झूट बोल्ने बानी छैन : अध्यक्ष ओली

मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भएको सहमति प्रचण्डले ढाकछोप गरिरहेको बताएका छन्।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा अध्यक्ष ओलीले २०६० साल पुसमा भएको सहमतिअनुसार नै तत्कालीन राजा देशभर अभिनन्दनमा निस्किएको दाबी गरे।

प्रचण्ड र पूर्वराजाबीच पुस १८ गते राति सहमति भएपछि ज्ञानेन्द्र शाह अभिनन्दन कार्यक्रममा निस्किएको ओलीले दावी गरेका हुन्। सहमति भएको पत्र सार्वजनिक गर्न सकिन्छ भनेर राखेको पत्रकारको प्रश्नमा अध्यक्ष ओलीले भने, ‘मेरो काम पोलिटिकल हो। मैले कागज खोजेको होइन। पोलिटिक्स खोजेको हो। प्रचण्डले त ढाकछोप, झूट गरिहाल्नु हुन्छ। मेरो कुनै झूट बोल्ने बानी छैन।’

प्रचण्डले सहमति भएको पुष्टि गर्न चुनौती दिएको विषयमा उनले थपे, ‘यसबारे प्रचण्डले ढाकछोप गरिहाल्नुहुन्छ नि’ झूट बोल्नुहुन्छ। गर्ने मान्छे म हुँ भन्दै सार्वजनिक भइरहेका छन्। अझै पनि पुष्टि भएन भने कसको के लाग्छ? त्यसको खण्डन गर्नुपर्छ नि उहाँले।’

प्रचण्डले वार्ताका लागि त्यसबेला खटाएका वार्ताकार, मस्यौदाकारकै भनाइ सार्वजनिक भइसकेको ओलीको भनाइ छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सूर्यमाथि ग्रहण लागिरहेको अभिव्यक्ति दिइरहेकोबारे उनले भने, ‘हो, एमालेमाथि उहाँहरुले एकछिनका लागि ग्रहण लगाउनुभएको हो। एमालेलाई सरकारबाट हटाउन सकेकोमा उहाँहरु एकछिनका लागि खुसी हुनु भएको छ। दक्षिणपन्थी प्रतिगामी सरकार बनाउन पाएकोमा खुसी हुनु भएको छ। त्यो स्पस्ट नै छ नि!’