प्रचण्डले एमालेलाई यतिसम्म भने

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले तेस्रो पटक संसद विघटन गराउन खोजेको आरोप लगाएका छन्।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्वसन्धानमा शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग गरिएको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले निरन्तर संसद अवरुद्ध गरेर एमालेले प्रतिनिधिसभा विघटनलाई निरन्तरता दिन खोजेको बताएका हुन्।

माधव नेपाल सदनमा देखिएसम्म सदन चल्न नदिने एमालेको कदम अदालतको फैसलाअनुसार नभएको उनको भनाइ छ। सदनमा अहिले एमालेले जात्रा गरिरहेको उनले टिप्पणी गरे।

उनले भने, ‘सदनभित्र एउटा विचित्रको झण्डै–झण्डै जात्राजस्तै भन्न पनि सकिन्छ। प्रमुख प्रतिपक्षीको स्थानमा भएको पार्टीले सदन अवरुद्ध गरेको छ। कारण केही पनि छैन। कारण चाहीँ त्यहाँ माधव नेपाल देखिनुभएन भन्ने छ। जबकी अदालतले त्यो फैसालामा ह्वीप लाग्दैन भनेर फैसला गरिसक्या छ। निर्वाचन  आयोगले बकाइदा मान्यता दिइसक्या छ। सदनले त्यसलाई स्वीकारेर बैठक भइसक्या छ। तर उहाँहरु ती त्यहाँ रहँदासम्म हामी चल्न दिन्नौँ भनिराख्नुभा’छ।’

प्रचण्डले थपे, ‘हामीलाई लाग्छ, यसो हेर्दा पहिलो प्रतिनिधिसभा विघटन, दोस्रो विघटन र यो तेस्रो विघटनको प्रकृया बनाउन खोज्या हो। विघटनको निरन्तरता दिन खोजिएको छ। फेरि विघटन हुन कुनै हालतमा दिइँन्न। यसलाई पुरै अवधि चलाएर निर्वाचनतिरै देशलाई लैजाने हो भनेर हामी लागिराखिया छ। यो पनि आफैमा एउटा च्यालेञ्जिङ, चुनौतीपूर्ण र जटिल स्थिति पनि छ।’