महामन्त्रीमा हारेपछि डा महतले भने थप उत्साह र उर्जाका साथ अगाडि बढ्छु

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले आगामी दिनमा आफू थप उत्साह र ऊर्जाका साथ पार्टी काम गर्ने बताएका छन् । पूर्वमन्त्रीसमेत रहेका उनी पार्टीको हालै सम्पन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा पराजय हुनु परेको थियो । महाधिवेशनमा आफू समूहगतरूपमा निर्वाचनमा गएको भए पनि महामन्त्री पदमा अपेक्षितरूपमा समूहगत भोट नआएको उनको गुनासो थियो । पार्टीका निवर्तमान सहमहामन्त्री डा महतले निर्वाचनको मतपरिणामका बारेमा पार्टीका सार्थीहरुले आगामी दिनमा समीक्षा गर्दै जाने बताए ।

मतदानमा अनेक बाधा व्यवधानका बाबजुद प्राप्त गरेको मत आफ्ना लागि सबल पक्ष भएको बताउँदै उनले अहिलेको अवस्थालाई देशभरका नेताकार्यकर्ता माझ आफूलाई थप चिनाउने बुझाउने अवसरका रूपमा लिने उल्लेख गरे । मतदानमा अपेक्षित परिणाम नआएको भए पनि पार्टीमा आफ्नो हैसियतअनुसार काम गर्दै जाने उल्लेख गर्दै नेता डा महतले सबैले पार्टीलाई संस्थागतरूपमा अघि बढाउन लाग्नुपर्ने धारणा व्यक्त गरे ।