चार कार्यालयका २५ कर्मचारी छड्केमा परे

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज यहाँका चार सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा २५ कर्मचारी अनुपस्थित भएको पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सीता परियार नेतृत्वमा गएको टोलीले मालपोत तथा भूमि सुधार, नापी, नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको कार्यालयमा छड्के गर्दा मालपोतका सात, नापीका दुई, विद्युत प्राधिकरणका १२ र टेलिकमका चार कर्मचारी कार्यालयमा अनुपस्थित भएको पाइएको सहायक प्रजिअ परियारले जानकारी दिए ।

कार्यालयमा अनुपस्थित रहेका कर्मचारीलाई कारणसहित स्पष्टिकरण दिन जिप्रकामा उपस्थित हुन निर्देशन दिइएको छ । नियमितरूपमा समयमै कार्यालय नआएको, सेवा प्रवाह प्रभावित गरेको, अभिलेख व्यवस्थापनमा समस्या आएको, कार्यालयमा काम नलाग्ने सामग्रीको लिलामी, कार्यालय सरसफाइलगायतका विषयमा अनुगमन गरिएको बताइएको छ । अनुगमनमा विभिन्न सेवामा सेवाग्राहीसँग लिने शुल्कमा एकरूपता नभएको, सेवाग्राहीलाई नगदी रसिद दिने व्यवस्था केहीमा नगरेको तथा बिचौलिया हावी रहेको पाइएको बताइएको छ ।