एक वर्षमा पेट्रोलको मूल्य ३१ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेर आएको भन्दै विगत एक वर्षदेखि स्थानीय बजारमा लगातार मूल्य बढाइरहेको छ । त्यसको असर आम उपभोक्तामा पर्न गएको छ । निगमका अनुसार अघिल्लो वर्ष २०७७ फागुन ४ मा पेट्रोल प्रतिलिटर ११४ रुपैयाँ रहेकोमा हाल बढेर १४५ पुगेको छ । यस्तै, सो अवधिमा डिजेल प्रतिलिटर ९७ रुपैयाँ मूल्य रहेकोमा अहिले बढेर १२८ पुगेको छ ।

निगमका अनुसार २०७७ फागुन ४ मा प्रतिलिटर ११४ रुपैयाँ रहेको पेट्रोलको मूल्य फागुन १७ मा बढेर ११६ पुगेको थियो । ३ चैतमा ११८ पुगेको पेट्रोलको मूल्य चैत २२ मै १२० पुगेको थियो । यस्तै २०७८ वैशाख ४ मा लिटरमा १२१ रुपैयाँ पुगेको पेट्रोलको मूल्य जेठमा लिटरमा एक रुपैयाँ बढेर १२३ पुगेको थियो । जेठ महिनामा मूल्य बढेर १२५ रुपेैयाँ पुगेको थियो ।

असार महिनामा मूल्य बढेर १२७ रुपैयाँ पुगेकोमा सोही महिनामा १२९ पुगेको थियो । मूल्य वृद्धिको चौतर्फी विरोध भएपछि असार महिनामा निगमले डिजेल र पेट्रोल लिटरमा १ रुपैयाँ मूल्य घटाएको थियो । दुई महिनामा स्थिर रहेको मूल्य भदौ महिनामा पुनः बढेर १३० पुगेको थियो ।

कात्तिक महिनामा मूल्य बढेर १३३ रुपैयाँ पुगेकोमा भदौ महिनामै लिटरमा १३६ पुगेको थियो । यस्तै माघ महिनामा पेट्रोलको मूल्य बढेर १३९ रुपेैयाँ पुगेकोमा माघमै १४२ पुगेको थियो । अहिले १४५ रुपैयाँ पुगेको छ । डिजेलको मूल्य पनि सोही अनुपातमा बढ्दै गएको छ । अहिले डिजेलको बजार मूल्य प्रतिलिटर १२८ रुपैयाँ पुगेको छ ।