४ अर्ब ६५ करोड राजश्व छलि विरुद्ध अदालतमा मुद्दा


काठमाडौं । चालू आर्थिक वर्ष २०७८(०७९ को पहिलो ६ महिनामा राजस्व चुहावटका उजुरी बढे छ । गत आर्थिक वर्र्ष २०७७(०७८ को पुष मसान्तसम्म ४ सय ८३ उजुरी र सूचना तथा निवेदन परी ७५ वटा मुद्दा दर्ता गरिएकोमा यस वर्ष सोही अवधिमा उजुरी बढेर ७ सय ३७ पुगे पनि ४२ वटा मात्र मुद्दा दर्ता भएका हुन् ।

विभागले चालू वर्षको पहिलो छ महिनामा १ सय २९ प्रतिवादी विरुद्ध ४ अर्ब ६५ करोड विगो दावि गर्दै अदालतमा मुद्दा दर्ता गरेको हो छ। त्यस्तै गत वर्षको सोही अवधिमा विभागले १ सय ७९ प्रतिवादी विरुद्ध ११ अर्ब १३ करोड विगो बराबरको मुद्दा दर्ता गरेको थियो ।

गत वर्ष नक्कली मूल्य अभिवृद्धि कर बिजकका मुद्दाहरू धेरै भएका कारण विगो ठूलो भएपनि यस वर्ष त्यस्ता प्रकृतिका उजुरीहरू कम परेकाले विगो सानो देखिएको राजस्व अनुसन्धान विभागका प्रवत्ता टंकप्रसाद पाण्डेयले बताए ।

त्यस्तै उजुरी परेका सबै मुद्दाहरूमा सत्यता नहुने र ५० लाख भन्दा कम विगो भएका मुद्दा अदालतमा दर्ता नहुने भएकाले मुद्दाको संख्या पनि अघिल्लो वर्षको तुलनामा केही घटेको उनले बताए ।

त्यस्तै विदेशी विनिमय अपचलनतर्फ चालू वर्षमा विभागले २३ मुद्दामा ४२ प्रतिवादी विरुद्ध ७९ करोड विगो बराबरको मुद्दा दर्ता गरेको छ । गत वर्ष भने १५ वटा मुद्दामा ५७ प्रतिवादी विरुद्ध मुद्दा दर्ता गरिएको थियो । विभागका अनुसार चालू वर्षमा राजस्व अनुसन्धान तर्फ ८ सय ८५ मुद्दाको पारम्भिक अनुसन्धान सुरु गरिएको छ भने ६ सय २४ फाइलको विस्तृत अनुसन्धान भइरहेको छ । त्यस्तै ७५ वटा उजुरीको विस्तृत अनुसन्धान सकेर अन्य निकायमा पठाइएको विभागले जनाएको छ । गत वर्ष सोही अवधिमा ३६ वटा मुद्दा अन्य निकायमा पठाइएको थियो ।