दाहालको हावादारी गफ ‘देश दुर्घटनाबाट जोगियो’

मध्यरातमा भएपनि व्याख्यात्मक घोषणा सहित एमसीसी पारित हुँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल खुशी देखिएका छन् । एमसीसी पारित भएकोमा खुशी देखाउन सोमबार पत्रकार सम्मेलन नै गरेर दाहालले भने, ‘देश दुर्घटनाबाट जोगियो’ ।

दिनभर बानेश्वर चोकमा आफ्ना भातृसंगठनहरुलाई ढुङ्गा हान्न लगाएर नो एमसीसी भन्न लगाउने दाहालले एमसीसी पारित गर्दा खुशी किन भएँ भन्ने कुरा पत्रकार सम्मेलनमा ओकलेनन् ।

एकातिर कार्यकर्ताहरुलाई एमसीसीको विरोध गर्न लगाउने अर्कोतिर संसदमा त्यही कुरा पारित गराएर खुशी व्यक्त गर्ने उर्फ प्रचण्डको बोलीलाई कसरी बुझ्ने ? एमसीसी मध्यरातमा पारित भएकै कारण मुलुक ‘देश दुर्घटनाबाट जोगियो’ भन्ने कमरेड दाहाल एमसीसी पारित नहुँदा देश कसरी ‘दुर्घटनाबाट हुनबाट जोगियो’ ? एमसीसी पारित नहुँदा मुलुक युक्रेन वन्दै थियो कि प्लायलेष्टाइन ? भन्नु पर्दैन ?

पूर्व प्रधानमन्त्री, महान गौरवशाली पार्टी हाँक्ने अध्यक्ष जस्तो व्यक्तिले यस्ता हावाादारी गफ दिएर जनतालाई उल्लु बनाउन मिल्ला ? तीन दिनअघिसम्म एमसीसी मुर्दावाद भन्दै कलेजका विद्यार्थीहरुलाई बवबरमहल बानेश्वर सडक खण्डमा उतारेको होइन ? त्यसबेला मुलुक कुन संसारमा थियो । छिमेकी भारतले पेल्दै थियो कि चीनले ? कमरेड प्रचण्ड गणतन्त्र स्थापना हुन अघि तपाईको नेतृत्वमा जनयुद्ध भईरहँदा अमेरिकीकन साम्राज्यवाद मुर्दावाद भनेर कोरिएका भित्ते लेखनले अझै पनि गिज्याईरहेको छ ।

पत्रकार सम्मेलन गरेरै ‘देश दुर्घटनाबाट जोगियो’ भनिरहँदा किन र के कारणले भनेर जवाफ दिनु पर्दैन ? गोर्खाली नारायणकाजीलाई विपक्षमा उभ्याएर आफू पक्षमा उभिने अलिकति शरम मान्नु पर्ने थियो होला कमरेड प्रचण्ड ? सायद उ बेला ५० लाख टाउकोको मूल्य तोक्ने तात्कालिन अनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग कुम जोडर सत्ताको रसस्वाद गर्दा आनन्द लागिरहेको होला ।

२०५२ सालतिर फर्कदा सायद साम्यवाद र तानाशाहको तानावाना विरुद्ध वर्गसंघर्षको मोर्चामा उभिने उर्फ प्रचण्ड र अहिले टाउकोको मूल्य तोक्नेसँग घाँटी जोडेर हिड्ने पुष्पकमल दाहालको तन एउटै भएपनि मन फरक भयो कि जस्तो आभाष भईरहेको छ ।

जनताले चाहेको जनयुद्ध र जनसंघर्षपछिको उपलब्धी अनि अमेरिकन साम्राज्यवाद विरुद्धको लडाईँ भनेको एमसीसी सहर्ष स्वीकार थियो ? कि २६ वर्ष अघि यहाँले चाल्नु भएको जनयुद्ध पाखण्ड थियो ? त्यसो होइन भने तपाईका माओवादी कार्यकर्ताहरु सडकमा एमसीसी विरोध गरिरहँदा तपाई समेत संलग्न सरकारले अश्रुग्याँस, लाठी बजार्नु पर्ने कारण के थियो त ? त्यही हो तपाईले भन्नु भएको ‘देश दुर्घटनाबाट जोगियो’ । होइन भने कमरेड प्रचण्ड एमसीसीको ५० अर्वले विकासको गति लिन्छ वा मुलुको आमूल परिवर्तन हुन्छ भन्नु साँच्चै नै तपाईले भने जस्तो ‘देश दुर्घटनाबाट जोगियो’ होइन ‘ अव देश दुर्घटन तर्फ अगाडि बढ्यो’ ।

राष्ट्र, राष्ट्रियतालाई तिलाञ्जली दिएर अमेरिकी साम्राज्यवादको अघि घुँडा टेक्ने पुष्पकमल दाहाल र नेपालमा राजतन्त्र अन्त्य गर्न हिड्ने प्रचण्डको विचारमा के फरक आयो र ? आफ्नो स्वार्थ पूर्ति गर्नका लागि हरियो रुखमा भोट हाल्न सक्ने तपाई, करीव दुई तिहाईको ऐतिहासिक कम्युनिष्ट सरकारलाई कमाउननिष्ट बनाउने तपाई अनि तपाईकै टाउकाको मूल्य तोक्ने शेरबहादुरसँग अंकमाल गर्ने तपाईमा फरक के के छ छुट्याउन आम नागरिक मात्र होइन तपाईकै जनयुद्धमा होमिएका कार्यकर्ताहरुलाई कठिन भएको छ ।