लागुऔषध र गाँजासहित पक्राउ परे हलेसीका व्यवसायीहरु

काठमाडौ । हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिमका ३३ वर्षीय धीरज राई र ५१ वर्षीय युवराज राई सोमबार लागुऔषध गाँजासहित पक्राउ परेका छन् । दुर्छिमस्थित बतासेघाट नजिकैपर्ने सुइटेखोलाको बगरमा बिक्री गर्न बोरामा पोका पारेर त्रिपालले ढाकेर ठूलो मात्रामा लागुऔषध र गाँजा लुकाएर राखेको छ, भन्ने स्थानीय बासिन्दाले दिएको जानकारीको आधारमा ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्रउ गरेको हो

पक्राउ परेका दुवैजनाविरुद्ध लागुऔषध बेचबिखन तथा कारोबार महल अन्तर्गत जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिएका छन् । ३२ किलो ४८५ ग्राम लागुऔषध गाँजासहित पक्राउ परेका दुवैजनालाई अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

पक्राउ परेका राई नेपालीको उद्योगबाट सात केजी गाँजा, १५ बोरा प्याकिङ गरिएको भाले ब्राण्डको सुर्ती, दुई बोरा खुला सुर्ती, दुई बोरा चुना, एक बोरा लागुऔषध प्याकिङ गर्ने प्लाष्टिक, एक थान लागुऔषध बनाउने मेसिन, दुई बोरा लागुऔषध प्याकिङ गरिएको प्याकेटमा टालिने स्टिकर, दुई थान फलामे दाउ र एक थान अचानो बरामद गरेको थियो । पक्राउ परेका उनीहरु दुवैजनाविरुद्ध प्रहरीले मुद्दा चलाएर उनीहरुको उद्योगबाट बरामद गरेको कच्चा पदार्थ सनि नष्ट गरेको छ ।

हलेसी क्षेत्रका स्थानीय बासिन्दाले अवैध रुपमा गर्दै आएका अवैध गाँजा खेती नष्ट गर्न, बिक्री वितरणमा रोक लगाउन जिल्ला प्रहरी कार्यालयले अभियान नै सञ्चालन गर्दै आएको हो । सञ्चालन गर्दै आएको अभियान अन्तर्गत नै ईलाका प्रहरी कार्यालय हलेसी र प्रहरी चौकी च्यास्मिटारबाट खटिएको प्रहरी टोलीले यस वर्षमात्रै करोडौँ मूल्य पर्ने गाँजा खेती नष्ट गरेको बताएका छन् ।