मुसाले खान थाले पुराना अखबार

काठमार्डौ । स्क्यानर मेसिन बिग्रिएपछि वर्षौंदेखि प्रेस काउन्सिल नेपालमा रहेका अखबार टहरोमा अव्यवस्थित रूपमा थुपारिएको छ । डिजिटाइज हुन नसक्दा ती अखबार धुजाधुजा हुन थालिसकेका छन् । अखबारको सुरक्षाका लागी कुनै उपाय अपनाइएको छैन । कर्मचारीहरू का अनुसार अखबार भित्रभित्रै मुसाले खाएको हुनसक्ने बताउँछन् ।

सुरक्षाका लागि धेरै वर्षदेखि चासो नराख्दा जमिनको ओसले अखबार कुहिएको हुनसक्ने पनि अनुमान गरिएको छ । सुरक्षित राख्नुपर्ने अखबारका चाङमाथि बिग्रिएका फर्निचरसमेत मिल्क्याइएका छन् । अखबार भण्डार गरिएको अवस्था प्रेस काउन्सिलका कर्मचारीअरुले नबुझेको प्रष्ट छ ।

स्क्यानर मेसिन बिग्रिएको पाँच वर्ष भयो र स्क्यानको काम ठप्प भएको हो । पत्रपत्रिकालाई डिजिटाइज गर्न नपाउँदा भण्डार गर्नुपरेको हो । गोरखापत्रलगायत उपत्यकाबाट प्रकाशन हुने सबै दैनिक अखबारका साथै साप्ताहिक पत्रिका पनि राखिएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले बताएका छन् ।

प्रेस काउन्सिलले २०३१ देखि २०७० सालसम्मको गोरखापत्रका हरेक अङ्कलाई डिजिटाइज गरेको छ । त्यस्तै २०६२ सालसम्मका साप्ताहिक पत्रिका डिजिटाइज गरिएको छ । त्यसयताका कुनै पनि पत्रिकाको डिजिटाइज हुनसकेको छैन । प्रवक्ता खनालले नयाँ स्क्यानर मेसिन ल्याउन दुई वर्षअघि टेन्डर भएको तर बीचमा कोभिड–१९ का कारण सो प्रक्रिया अवरुद्ध भएको बताएका छन् । ७५ लाख रुपियाँ खर्च गरेर स्क्यानर मेसिन झिकाउँदै थियौँ तर कोभिड–१९ का कारण टेन्डरको समय सकिएकाले रद्द गर्नुपरेको बताए ।

त्यस बेला काउन्सिलका पदाधिकारीले स्क्यानर मेसिनका एक उत्पादक कम्पनीलाई दिन सोही अनुरूपको स्पेसिफिकेसन मागेको तर अर्को कम्पनीले त्योभन्दा राम्रो मेसिन कम मूल्यमा दिने भनी टेन्डर हालेपछि कुरा बिग्रिन पुगेको थियो । काउन्सिलका पदाधिकारीको गलत नियत थाहा आएपछि सूचना विभागका तत्कालीन महानिर्देशकको निर्देशनमा टेन्डर प्रक्रिया रद्द गर्नुपरेको कुरा काउन्सिलका एक पदाधिकारीले आफ्नो नाम उल्लेख नगरिदिने सर्तमा बताए ।

काउन्सिलका प्रवक्ता खनालले पुनः टेन्डर आह्वान गर्न छलफल सुरु गरिएको जानकारी दिनुभयो । उहाँले कोभिड–१९ का कारण स्क्यानर मेसिनको अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएको बताउँदै भन्नुभयो, । त्यो मेसिनको बजार भाउ बढेको छ । त्यसैले स्टिमेट बढ्ने देखिएको छ । काउन्सिलमा डिजिटाइज गरेका अखबारका डिजिटल कपी किन्न पाउने व्यवस्था छ ।

मुद्रण विभागबाट छपाइसम्बन्धी पुराना केही मेसिन ल्याइएको छ । त्यस्तै पुराना कम्प्युटर, प्रिन्टर, टाइप राइटर जस्ता सामग्री पनि सङ्कलन भइसकेको बताएका छन् । पुराना ब्लक, छपाइमा प्रयोग हुने अक्षर लगायतका सामग्रीको पनि जोहो गरिएको छ । गोरखापत्रले पनि न्युज म्युजियम न्युजियम स्थापना गर्न गत वर्षदेखि पुराना सामग्री सङ्कलन गरिरहेको छ ।