तनहुँ कारागारमा महिला कैदीबन्दी राख्न सुरु

काठमार्डौ । तनहुँ कारागारमा महिला कैदीबन्दी राख्न थालिसकेको छ । कारागारमा महिला बन्दीगृह निर्माण सकिएपछि औपचारिक रुपमा अहिले महिला कैदीबन्दी राख्न थालिएको छ ।

महिला बन्दीगृहमा १२ जना महिला रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिएका छन् । कास्की कारागारबाट ११ जना महिला कैदीबन्दी तनहुँ कारागारमा ल्याइएको छ । तनहुँ घर भएका ती महिलालाई कास्कीबाट यहाँ स्थानान्तरण गरिएको अधिकारीले बताएका छन् । महिला बन्दीगृह नहुँदा तनहुँबाट कास्की पठाइएका उनीहरुलाई पुनः अहीले तनहुँ कारागारमै पठाइएको छ । कास्की कारागारबाट ल्यएका मध्ये दुई महिला थुनुवा र नौ जना कैदीबन्दी रहेको अधिकारीले जानकारी बताएका छन् ।

कारागारमा नयाँ भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाइएको छ । गत आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालयमार्फत २० लाख बजेटको काम भए पनि बजेट अपुग हुँदा चालु आर्थिक वर्षमा कारागार व्यवस्थापनले २० लाख बजेट विनियोजन गरेको थियो ।

तनहुँ अदालतबाट पनि एक महिलालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । ती महिलालाई पनि महिला बन्दीगृहमै राखिएको अधिकारीले बताएका छन् । अहिले तनहुँमा निर्माण गरिएको महिला बन्दीगृहमा २० जना सम्मा राख्न मिल्ने रहेको बताएका छन् । महिला बन्दीगृह नहुँदा कैदीबन्दीलाई पोखरा वा अन्यत्रै पठाउनुपर्ने बाध्यता थियो । अहिले भने सजिलो भएको छ । कारागारको पुरानो कार्यालय भवन र सुरक्षा ब्यारेकलाई मर्मत र कम्पाउण्ड गरी महिला बन्दीगृह सञ्चालन गरिएको छ ।