मालिकाको सबै वडा सडक सञ्जालसँग जोडियो

काठमार्डौ । गुल्मी जिल्लाको मालिका गाउँपालिकाले सबै वडालाई सडक सञ्जालसँग जोड्न चक्रपथ निर्माण गरेको छ । प्रत्येक वडालाई गाउँपालिकाको केन्द्रसँग जोड्ने योजना अनुरुप ७७२ किलोमिटर चक्रपथ निर्माण गरिएको छ ।

गाउँपालिकाको गौरवको योजनाका रुपमा यसलाई लिएको भन्दै , आफूहरु निर्वाचित भएको पाँच वर्षभित्र गुल्मीको विकट भनेर चिनिने मालिकाका सबै वडामा सडकको पहुँच उद्देश्य भएको गाउँपालिकाका अध्यक्ष रितबहादुर थापाले भनेका छन् । उहाँले पालिकामा पूँजीगत बजेट निकै कम हुँदा पनि क्रमागत रुपमा प्रत्येक वर्ष बजेट विनियोजना गरेर मालिकामा चक्रपथ निर्माण गरेको बताएका छन् ।

कूल रु ४ करोडको लागतमा सो चक्रपथ निर्माण भएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिएका छन् । मालिका गाउँपालिकाको वडा नं ४ को अर्खबाङ हुँदै तिरतिरे, सिमलटारी, अर्जै बोम, नेटा, लिलिङ, भीमगिठे, पाटाखर्क, दर्लिङ, गङगरेदेखि पुनः अर्खाबाङसम्म चक्रपथले जोडेको बताएका छन् ।

चक्रपथ बाहेक मदनभण्डारी सडक, सालझण्डी–ढोरपाटन सडक र मध्यपहाडी सडकसँग जोडिएका सडकको स्तरवृद्धि र ग्राभेलको काम भइरहेकाले र बाह्रै महिना सहजरुपमा यातायात सञ्चालन हुने उद्देश्यले काम गरेको बताएका छन् ।