पानीको महत्वको विषयमा प्रतियोगिता, एक दर्जन विद्यालयका छात्र छात्राले भाग लिए

काठमार्डौ । विश्व पानी दिवसका अवसरमा खानेपानी मन्त्रालय र सोफेनले माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । मानव जीवनमा पानीको महत्वका विषयमा आयोजना गरिएको प्रतियोगितामा राजधानीको उत्तरपूर्वी भेगका एक दर्जन विद्यालयका छात्र छात्राले भाग लिएका थिए

गोकर्णेश्वर नगरपालिका १ स्थित सुन्दरीजलमा रहेको मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्रमा गरिएको प्रतियोगितामा गोकर्णेश्वर महादेव अङ्ग्रेजी माध्यमिक विद्यालयकी अञ्जिला थापा पहिलो भएकी छिन् ।

इष्टपोल माध्यमिक विद्यालय जोरपाटीकी प्रियंशा कार्की दोस्रो र आनन्द भैरव माध्यमिक विद्यालय मूलपानीकी सदीक्षा खड्काले तेस्रो स्थान प्राप्त गरेकी छिन् । सो अवसरमा पहिलो हुनेलाई रु १० हजार, दोस्रो हुनेलाई रु ७ हजार र तेस्रो हुनेलाई रु ५ हजार नगद पुरस्कारसहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा विजयी हुनेलाई खानेपानीमन्त्री उमाकान्त चौधरीले पुरस्कार र प्रमाण पत्र दिँदै पानीका मुहान संरक्षण गर्न जनचेतना जगाउने अभियानमा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ । सबै सामुदायिक विद्यालयमा स्वच्छ खानेपानी उपलब्ध गराउन मन्त्रालयले आगामी आर्थिक वर्षमा विशेष कार्यक्रम ल्याउने समेत बताउनु भएको छ ।

घरायसी प्रयोग र औद्योगिक प्रयोगको पानी प्रशोधन नगरी विसर्जन गरिँदा पानीका मूल, नदी नाला प्रदूषित हुने गरेको मन्त्रालयका सचिव सुरेश आचार्यले बताउनु भएको छ । दिसाजन्य लेदो व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ रहेको छ । ५३ वर्ष अघिदेखि सुन्दरीजलको पानी काठमाडौँ उपत्यकामा वितरणका लागि लगिएको उल्लेख गर्दै सुन्दरीजलवासीले नै अझै स्वच्छ खानेपानी नपाएको बिपी सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेलले बताएका छन् ।