मन्त्री आले र सलमान खानबीच दिउँसो ३ बजे भिडियो सम्वाद हुने

काठमार्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतीय अभिनेता सलमान खानबीच आज भिडियो सम्वाद हुने भएको छ ।

भारतीय अभिनेता सलमान खान आगामी जेठ १८ गते काठमाडौँको दशरथ रङ्गशालामा हुने ‘दबङ लाइभ इन नेपाल’ कार्यक्रमका लागि नेपाल आउन लागेका छन् । सोही कार्यक्रमलाई लक्षित गरी आज दिउँसो ३ बजे मन्त्री आलेले अभिनेता खानसँग भिडियो सम्वाद गर्ने कार्यक्रम तय भएको मन्त्री आलेका स्वकीय सचिवालयले जानकारी गराएका छन् ।

अभिनेता खान नेपाल आउने कार्यक्रमलाई नेपालको पर्यटन प्रवद्र्धनका लागि कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर मन्त्री आलेले खानसँग सम्वाद गर्नुहुने कार्यक्रम तय भएको हो । दुई वर्षअघि नै अभिनेता खानको नेपाल आउने कार्यक्रम तय भएको थियो । तर कोभिड १९ को उच्च जोखिमका कारण रोकिएको उहाँको कार्यक्रम पुन अहिले हुने भएको छ।

ओडिसी इन्टरटेनमेन्टले सो कार्यक्रमको आयोजना गर्न लागेको जानकारी गराएको छ । आगामी जेठ १८ मा हुने सो कार्यक्रममा अभिनेता सलमान खानसँगै अन्य भारतीय कलाकारहरु पनि नेपाल आउने भएका छन् । भारतीय अभिनेता खान नेपाल आउँदा यहाँको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने अपेक्षा मन्त्री आलेले राखेका छन् ।