पहिरोले २०० घरधुरी जोखिमा

काठमार्डौ । महोत्तरी जिल्लाको उत्तरवर्ती बर्दिबास नगरपालिकाको वडा नं १० खयरमारामा भीषण पहिरो जाँदा २०० घरधुरीका परिवारमा त्रास भएको छ । खयरमाराको चुरे पहाडमा गए राति बस्ती नजिकै तीनतले स्थानबाट पहिरो गएकाले अहिले त्यहाँका बासिन्दा त्रसित भएको स्थानीयवासी इसारा लामाले बताएका छन् । मध्यरातसम्म साना, साना पहिरो झरे पनि आज बिहान २ बजेदेखि बढदै आएको भीषण पहिरो झरेका कारण २०० घरधुरी बासिन्दामा त्रास बढेको जानकारी गराएको छ ।

तीनतलेबाट झरेको पहिराले खयरमाराको खोला पुरेपछि छोड्के, पिपलदमा, गुरुङखोला, चनौटे, गर्दीखोला, भाङ्गरे झ्याउरे र खयरमाराको मुख्य बजार नै जोखिममा परेको स्थानीयवासीले बताएका छन् । खयरमाराको भित्री बस्तीमा सडक सञ्जाल नहुँदा स्थानीयवासी खोलाबाटै आवतजावत गर्दै आएको बताउछन् । पहिराले खोला पुरेपछि खयरमाराबाट बर्दिबास आवतजावत गर्ने बाटो पनि बन्द भएको स्थानीयको भनाई छ ।

विगत एक सातादेखि तराई मधेसमा एक्कासि बढेको अत्यधिक तापक्रमले चुरे पहाडमा रहेको खुकुलो चट्टानमा तातो र चिसोको सन्तुलन मिल्न नसक्दा पहिरो गएको वातावरण क्षेत्रमा काम गर्ने बर्दिबासका नागदेव यादवले बताएको छ । उहाँले थप पहिरो जान सक्ने भएकाले त्यस क्षेत्रका बस्ती जोखिममा रहेको जानकारी गराएको छ ।