वनकरिया बस्तीको जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री पाण्डे

काठमार्डौ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सीमान्तकृत एवं लोपोन्मुख वनकरियाको बसोबासको जिम्मा प्रदेश सरकारले लिनु पर्ने बताउनुभएको छ । मकवानपुरको मनहरि गाउँपालिकामा रहेको वनकरिया बस्तीमा पुगेर मुख्यमन्त्रीले वनकरियाको समस्या समाधान गर्नेमा प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको छ ।

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले मकवानपुरमा मात्र रहेको वनकरिया समुदायको माग राज्यले पूरा गर्न सक्ने बताइएको छ । वनकरिया समुदायमा प्रदेश सुशासन केन्द्रले आयोजना गरेको स्थानीय तहहरुका लागि लैङ्गिक समानता र सामाजिक समावेशीकरण रणनीति तालिममा प्रमुख शर्माले वनकरियाको गाँस, बास र कपासको जिम्मा राज्यको रहेको र त्यसमा पनि अति लोपोन्मुख जातिका रूपमा रहेको यस समुदायको माग सम्बोधन गर्नुपर्ने प्रमुख शर्माको भनाइ रहेको छ ।

पर्सा वन्यजन्तु आरक्षको क्षेत्राधिकारभित्र रहेको वनको क्षेत्रमा बसोबास गर्दै आइरहेको उक्त बस्तीलाई प्रदेश सरकारले शिक्षा र स्वास्थ्यको पूर्वाधार निर्माणसहितको बस्ती बनाएर स्थानान्तरण गर्ने पर्ने मुख्यमन्त्री पाण्डेले भनेका छन् । उहाँले वनकरिया बस्ती नजिकै रहेको विपन्न चेपाङ बस्तीसहित बस्ती स्थानान्तरण समेत गरिने बताउनु भएको छ । आफ्नो समस्या सम्बन्धित निकायमा भन्नलाई समेत शिक्षाको आवश्यकता पर्ने भन्दै आफ्ना छोराछोरीलाई नियमित विद्यालय पठाउन अनुरोध गर्नुभएको छ ।

वनकरिया समुदायकी मुखिया सन्तमाया वनकरियाले आफूहरूको मुख्य समस्या भनेको जग्गाको रहेको बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्यमा पनि ध्यान दिन मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । मनहरि गाउँपालिका उपाध्यक्ष मनिला विष्टले वनकरिया समुदायका लागि पालिकाले प्राविधिक शिक्षामा छात्रवृत्ति र निःशुल्क स्वास्थ्य बीमा गरिदिने जानकारी गराएको छ ।