आफन्तबाटै हुन्छन् महिला तथा बालिका बलात्कार

नेपालमा दिनानुदिन बलात्कारका घटना बढ्दै गईरहेको देखिन्छ । अचम्म लाग्दो कुरा त के छ भने मानिसहरु सभ्य, शिक्षित र नैतिकवान् भएरपनि समाजमा बलत्कार जस्तो जघन्य अपराध भइरहेको छ ।

अझ भन्नुपर्दा १८ बर्षमुनिका नाबालिकाहरु बढि बलात्कृत हुन्छन् । धेरै जसो बलात्कारका घटना त आफन्तबाट नै भएको प्रशस्त उदाहरणहरु देख्न सकिन्छ । पछिल्ला दिनहरूमा सार्वजनिक भएका घटनालाई केलाएर हेर्ने हो भने महिला तथा बालिकाहरु आफ्नै दाजुभाइ, बाबु, काका भनिने आफन्तहरूबाट बलात्कृत हुने गरेको पाईन्छ । त्यसो त बलात्कारका घटना सार्वजनिक भईरहँदा मानसिक स्वास्थ्य समस्यामा परेका बालिकाहरु पनि घरभित्रै वा नजिकका नातेदारबाट समस्यामा परेको प्रष्ट देखिन्छ । कानूनको कार्यान्वयन फितलो हुँदा कतिपय यस्ता घटनाहरु बाहिर आउँदैनन् पनि ।

पछिल्लो समय विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जालहरुमा आएका बलात्कारका घटनाले सोच्न बाध्य बनाउँछ कि महिलाहरूको लागि सुरक्षित ठाउँ कहाँ हो ? आफ्नै घर तथा नजिकका नातेदारहरूबाट समेत महिला तथा बालबालिका असुरक्षित हुनुको कारण के हो ?

भन्ने गरिन्छ कि बलात्कारीहरू अपराधी हुन् र तिनीहरूलाई कानुनबमोजिम कारबाही हुनुपर्छ । तर विडम्वना अपराधीलाई कानुनको कठघरामा ल्याउने संयन्त्र नै विचरा छ ।

सर्वप्रथम सामाजिक चेतना, फितलो कानुनी व्यवस्था, तथा सामाजिक सुरक्षाको कमजोरीले नै यस्ता घटना बढ्दै गईरहेको तथ्यहरु छन् । पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो दुरुपयोग, र आपराधिक मनस्थितिका कारणले गर्दा बलात्कारका घट्ना बढ्दो क्रममा छ । हाम्रो नेपाली समाज पुरुष प्रधान छ । समाजमा पुरुषहरु महिलामाथि हिँसा गरिएन भने आफ्नो पुरुषत्व नै गुम्ने झै ठान्दछन् । पुरुषले जती नै ठुलो गल्ती किन नगरोस् दोष भने महिलाकै हुने गर्छ हाम्रो समाजमा । यसरी त कसरी न्यूनिकरण होला महिला हिँसा ? प्रश्न उठ्नु स्वाभाविक हो ।

आजको २१ औँ शताब्दीको समाजमा एक अबोध बालिकामाथि बलात्कार हुनु पीडकलाई कानुनको दायरामा ल्याउन नसक्नु एकदमै लज्जास्पद विषय बनेको छ । यसरी अपराधमा संलग्नहरुलाई कानुनले ठम्याउन नसक्दा र कानुनी बमोजिम सजाय हुन नसक्दा अपराधीहरुलाई थप प्रोत्साहन मिलिरहेको भान हुन्छ । जसका कारण पीडितले उजुरी दिन समेत असुरक्षित मान्ने गरेका छन् । बलात्कारका घटनालाई बाहिर ल्याउन सामाजिक त्रास, आफ्नो परिवार, नातागोता र इष्टमित्रको इज्जत जाने डर र बाबुआमाको मान प्रतिष्ठा जोगाउने नाममा पीडितहरु उजुरी दिन हिचकिचाउने गरेका छन् ।

हो, पछिल्लो समय नेपाली समाज गलत मार्ग तर्फ उन्मूख भईरहेको छ । सामाजिक सञ्जालको दुरुपयोग र त्यसले पारेका प्रभावलाई नियमनकारी निकायले नियन्त्रण गर्न सकेको छैन । जसका कारण नेपालमा यौनिक हिंसाले अनेकन रुप लिँदै आईरहेको छ । सामाजिक रुपमा ठूलो अपराध मानिएको बलात्कारका घटना हरेक दिन कुनै न कुनै रुपमा बाहिरिनु र परिवार एवं चिनेजानेकैबाट भित्रैबाट त्यस्ता घटना दोहोरिनुले यस्ता घटना भयावह वन्दै गईरहेको संकेत गर्दछ ।

त्यसो त मुलुकभर बढ्दै गईरहेको बलात्कारका घटनालाई न्यूनिकरण गर्नका लागि यस्ता घटना सार्वजनिक नगर्ने र महिलाहरुले त्यसका विरुद्ध आवाज ननिकाल्ने हो अझ विकराल रुप लिने स्पष्ट देखिन्छ ।

हाम्रो समाजमा पीडामा परेकालाई झन् पीडा दिने चलन छ । अब समाज परिवर्तनसँगै पीडितलाई सहयोग र पीडकलाई कानूनी कठघरामा नउभ्याउनका लागि समाजका सवै तह र तप्काका नागरिकहरु एक जुट हुनु आवश्यक भईसकेको छ ।