चर्खा चल्न छाड्यो, ऊनको अभाव

काठमाडौँ । म्याग्दी जिल्लाको माथिल्लो क्षेत्रमा व्यावसायिकरुपमा भेडाको ऊन निकालेर कपडा बनाउने चलन भने हराउँदै गएको छ । गाउँघरमा चर्खा चलाउने र भेडाको ऊनबाट धागो निकालेर कपडा बनाउने जनशक्तिको अभावमा हुँदा घरखर्चको राम्रो आम्दानीको माध्यम बन्न सक्ने ऊनका कपडा गाउँघरबाट नै लोप हुन थालेका स्थानीयवासीहरुले बताएका छन् ।

उतरी र पश्चिमी क्षेत्रमा भेडापालनबाट गाउँलेले राम्रो आम्दानीसमेत गर्दै पनि भेडा मासुका रुपमा मात्र प्रयोग गरिँदा ऊनबाट हुने व्यावसायिक फाइदातर्फ किसानहरुको ध्यान जान सकेको छैन । भेडाको रौँ निकालेर चर्खामा घुमाई ऊन धागो बनाउने सीप नहुँदा आम्दानीको गतिलो माध्यम बन्न सक्ने ऊनका कपडा गाउँघरमा समेत मुस्किलले देख्न पाइने मल्काबाङका पुनम छन्त्यालले बताए । भेडाको रौँबाट बनेका ऊनका कपडाको माग देश विदेशमा उच्च स्तरमारहे पनि चर्खा चलाएर धागो निकाल्ने र तान लगाएर कपडा बुन्ने जनशक्तिको अभावमा हुँदा आम्दानीबाट वञ्चित हुनु परेको भेडापालक कृषकहरुको गुनासो गरेका छन् ।

ऊनबाट बन्ने कपडाहरू हापदुला, काम्लो, बख्खु, घुमको माग नेपाली तथा बाहिरी बजारमा निकै बढेको पाइन्छ । गाउँघरका बूढापाकाहरुले सीप हस्तान्तरण गर्न नसक्दा अहिलेका युवा पुस्तामा चर्खा चलाएर धागो निकाल्ने र तान फिजाएर कपडा बनाउने सीप नभएको र युवाहरु परम्परागत सीप सिकेर जीविकोपार्जन गर्नुभन्दा विदेश गएर केही वर्ष दुःख गरी पैसा कमाउनतर्फ लालायित हुने गरेकाले गाउँघरमा चर्खा चल्न छोडेका टेकबहादुर बुढाले बताएका छन् ।

धवलागिरि गाउँपालिका ५ की तेजमायाँ विक उमेरले ७१ वर्षकी पुगेकी तेजमायाँ विक बाल्यकाल देखि नै चर्खा चलाएर भेडाको रौँबाट ऊन निकाली हापदुला र काम्लो बनाउने गर्दै आएकी उनले अहिले हातले काम गर्न नसकेपछि चर्खा चलाउन पनि छाडिएकी बताईन । उनले ४३ वर्षसम्म चलाएको चर्खा अहिले सिकुवामा थन्किएको बताएकी छिन् ।

अहिलेका पुस्ताले परम्परागत सीप नसिकेपछि अहिलेका केटाकेटीहरु पुरानो जमानाका कुरालाई खुइले कुरा भन्छन्, चासै दिँदैनन्, हामी बाँचुन्जेल ओढ्ने, ओछ्याउने हो मरेपछि यी पुराना थाउनालाई हामीसँगै पोलिदिन्छन् ।” ऊनबाट बुनेको कपडाको मूल्य न्यूनतम पाँच हजारदेखि ४०÷५० हजारसम्म पर्ने गरेको स्थानीय बासबिूढापाकाहरुको भनाइ रहेको छ । जाडोकमो समयमा न्यानो र पानीसमेत छेक्ने हुँदा यसको माग बढ्ने गरेको गाउँपालिका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताएका छन् ।

पछिल्लो समय ऊनका कपडाहरूको उत्पादन कम हुँदै गएको छन्त्यालल स्वीकारेका छन् । नयाँ प्रविधिका कारण र बजारमा आउने विदेशी कपडाले ऊनका कपडा ओझेलमा परेको अध्यक्षको भनाइ छ । पहिले दुःख पाउने गरिबीहरुले मात्र लगाउने र ओढ्ने ऊनका कपडा अहिले धनीमानी र सौखिनहरुले पनि धेरै खोज्ने र लगाउने गरेको पाइन्छ ।