पञ्चेश्वर परियोजना अघि बढाउन दुई देशका प्रधानमन्त्री बीच सहमत

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना यथासिघ्र अघि बढ्ने बताएका छन्। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि भारतीय प्रधानमन्त्री मोदीले पञ्चेश्वर परियोजनालाई अघि बढाउन सहमति गरिएको बताएका हुन्। उनले भने, ‘पञ्चेश्वर परियोजनालाई अघि बढाउन सहमती गरेका छौं। यो परियोजना गेमचेन्जर बन्नेछ।’

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको बाँध स्थल, सन् १९५६ मा नै भारतीय पक्षले पहिचान गरेको थियो। सुरुमा, सन् १९७१ को आयोजना प्रतिवेदनमा १००० मेगावाट क्षमताको देखिएको थियो तर पछि सन् १९९१ मा यस आयोजनाको बाँध ३१५ मिटरको बनाइँदा कुल उत्पादन ६४८० मेगावाट हुने देखियो।

नेपाल सरकार तथा भारत सरकार बीच महाकाली नदीको पञ्चेश्वर योजना सम्बन्धमा वि।सं। २०५२ माघ २९ गते सन्धी सम्पन्न भएपछि यो आयोजना द्वि–राष्ट्रिय लगानीमा संयुक्त रुपमा सञ्चालन गर्ने निर्णय भएको थियो। वि।सं। २०६६ मंसिर ९ गते नेपाल सरकारको जलस्रोत मन्त्रालयका सचिव तथा भारत सरकारको जलस्रोतको संयुक्त समितिको बैठकमा पञ्चेश्वर विकास प्राधिकरणको गठन गरी विस्तृत योजना प्रतिवेदन तथा अन्य आवश्यक कार्य सम्पन्न गर्ने सहमती भएको थियो।

द्विपक्षीय रुपमा आयोजनाले गति लिइ नसकेको भए पनि नेपाल सरकारको तर्फबाट आयोजनालाई सकेसम्म जनताको पक्षमा राख्न पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाले प्रयासहरु गर्दै आएको छ।