पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

काठमाडौँ । महोत्तरीको औरही नगरपालिका १ मा गए राति दुई छोराछोरीसहित आमाले पोखरीमा हाम फाल्दा दुवै छोराछोरीको डुबेर मृत्यु भएको छ । महिलाले छोराछोरीसहित पोखरीमा हाम फालेको स्थानीयले थाहा पाएपछि तीनै जनाको उद्धार गरी पोखरी बाहिर निकालिएको थियो । उनीहरुलाई उपचारका लागि स्थानीय राधाकृष्ण अस्पताल लगिएपछि चिकित्सकले दुवै छोराछोरीलाई राती नै मृत्यु घोषणा गरेको जानकारी गराएका थिए । तर आमाको अवस्था भने सामान्य रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय विश्वजीत कर्णकी पत्नी २६ वर्षीया बन्दना कर्णले गए राति १० बजे गाउँमै रहेको महादेव मन्दिरको पोखरीमा आफ्ना चार वर्षीया छोरी विद्या र आठ महिनाको छोरा अध्यान्सुसहित पोखरीमा हाम फालेकामा बताइएको छ । पोखरमिा हाम फाल्ने क्रममा दुवै छोराछोरीको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताएका छन् ।

घटना पश्चात गए राति ११ बजे नै प्रहरीले मृतक बालबालिकाका आमा बुवा दुवैलाई नियन्त्रणमा लिएको बताएका छनु । उक्त घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी गराएको छ ।