कल्याण कोषबाट प्रहरी अस्पताललाई दुई करोड हस्तान्तरण

काठमाडौँ । पूर्वप्रहरी तथा बहालवालाका परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई आज २ करोड हस्तान्तरण गरेको छ ।

अस्पतालको ३८औँ वार्षिकोत्सव समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले २ करोडको चेक अस्पतालका मेडिकल निर्देशक, प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहलाई हस्तान्तरण गरेका छन् ।

महानिरीक्षक थापाले अस्पताल परिसरमा रहेको पूर्व प्रहरी अधिकृत प्रतिक्षालयको उद्घाटन गर्दै समरोहमा प्रहरी महानिरीक्षक थापाले अस्पताललाई अहिलेको अवस्थामा ल्याउन पूर्व महानिरीक्षकले निर्वाह गरेको योगदानको प्रशंसा समेत गरेका छन् । कोभिड १९ को सङ्क्रमणका समयमा नेपाल प्रहरी अस्पतालले देखाएको लगन र निष्ठा उल्लेखनीय रहेको स्मरण गरेका छन् । उनले आगामी दिनमा नेपाल प्रहरी अस्पतालबाट प्रवाह हुने सेवा अझै उत्कृष्ट हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल प्रहरी अस्पतालको विद्यमान सेवालाई अझ व्यवस्थित गर्न र अस्पतालको दीर्घकालीन विकासका लागि सहयोग जारी रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । नेपाल प्रहरी श्रीमती सङ्घको तर्फबाट अध्यक्ष सिर्जना थापाले अल्ट्रासाउन्ड र फिजियोथेरापीका लागि प्रयोग हुने यन्त्रउपकरण हस्पतान्तरण गरेका छन् । वार्षिकोत्सवका अवसरमा सङ्घका पदाधिकारीले अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण पनि गरेको छ ।

अस्पतालको सेवा प्रवाहमा अविस्मरणीय योगदान गर्दै २५ वर्ष अनवरत सेवा गर्ने प्रहरी कर्मचारीलाई कदरपत्र प्रदान गरियो । अस्पतालका मेडिकल डाइरेक्टर, प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर रहेको बताएका छन् ।