तनहुँमा पाँच वटा पुल सम्पन्न हुने, बाँकी आठ निर्माण सुरु

काठमाडौँ । तनहुँमा निर्माणधीन १३ वटामध्ये ५ वटा पुल यसै आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ । बाँकी रहेका ८ पुलको बोलपत्र पश्चात निर्माणकार्य अघि बढाइएको पूर्वाधार विकास कार्यालय इकाई कार्यालय तनहुँले जानकारी गराएको छ ।

शालिकराम करिडर अन्तर्गत ऋषिङ गाउँपालिका ४ र ५ जोड्ने ज्वालाखोला पुल, ऋषिङगाउँपालिका ५ लुक्दी खोला पुल, घिरिङ गाउँपालिका ४ को तिरमदी खोला पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । घिरिङ गाउँपालिका १ पुट्टार द्रौपद पुल, भीमाद नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने फेदी खोलामा निर्माणधीन अवस्थामा रहेको पुल यसै आर्थिक वर्षमा सम्पन्न गर्ने योजना रहेको छ ।

बोलपत्र भएका ८ वटा पुलको ३ वर्षको ठेक्का म्याद रहेकाले यसैवर्ष सम्झौता गरी निर्माणको चरणमा रहेको कार्यालयका सिनियर डिभिजन इञ्जिनीयर घिमिरेले जानकारी गराएका छन् । पूर्वाधार विकास कार्यालय इकाई कार्यालय तनहुँमार्फत निर्माणधीन अवस्थामा रहेका ५ वटा सडकको म्याद थप गरी निर्माणकार्य अघि बढाइएको उनले बताएका छन् ।

कोरोनाका कारण पटक–पटक निर्माण कार्य अवरुद्ध हुँदा समयअवधिभित्र सम्पन्न गर्न नसकेका सडकको म्याद थप गरिएको बताए । आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी विभिन्न चरणमा म्याद थप गरिएको कार्यालयका ‘साइट इन्चार्ज’ होमनाथ गौतमले जानकारी गराएका छन् । उनका अनुसार जिल्लाको दुलेगौँडा–हर्कपुर सडक आगामी असारसम्म, भानुमार्ग आगामी फागुनसम्म, मानपुर– डेढगाउँ मोटर मार्ग फागुनसम्म र आँबुखैरेनी–छिम्केश्वरी आगामी असोजसम्म म्याद थप गर्न लागि मन्त्रालयमा पठाइएको बताएका छन् ।

दासढुङ्गा– देउपुर सडक आगामी असारसम्म म्याद थपको लागि प्रक्रियामा राखिएको सो कार्यालयले जानकारी गराएको छ । जिल्लाको देवघाटबाट घिरिङ गाउँपालिका हुदै केलादीघाट कालीगण्डकी नदीको तिरैतिर स्याङ्जा, पाल्पा जोड्ने गरी शालिकराम करिडरको तीव्रगतिमा काम भइरहेको कार्यालयले बताए । ६८ किलोमिटर सडकमध्ये दासढुङ्गा– देउपुरसम्म छ किमी कालोपत्र भएको छ भने २५ किमी ग्राबेल गरिएको र बाँकी ३७ किमी ग्राबेल गर्न बाँकी रहेको कार्यालयका सिनियर डिभिजन इञ्जिनीयर घिमिरेले बताएका छन् ।