भन्सार छलेर ल्याएको लत्ताकपडासहित दुईजना पक्राउ

काठमाडौँ । भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी वृत्त टेकु जनसेवाबाट खटिएको प्रहरी टोलीले २३ लाख ५५ हजार ३०० मूल्य बराबरको कपडासहित दुईजनालाई पक्राउ गरेको बताएका छन् ।

काठमाडौँ महानगरपालिका १८ बस्ने ३८ वर्षीय सन्दीप कुमार र काठमाडौँ महानगरपालिका १४ बस्ने ३८ वर्षीय नीरज अग्रवाललाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले भन्सार छली गरेर ल्याएको लत्ताकपडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

उक्त कपडा अग्रवालले काठमाडौँ महानगरपालिका २४ असनस्थित सञ्चालन गरेको हनुमान ट्रेड कन्सर्न पसलको गोदाममा फेला परेको प्रवक्ता मैनालीले बताएका छन् ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जानकारी गराएको छ ।