समायोजनका नाममा महानगरमा कर्मचारी भरिभराउ, कर्मचारी संघले गरायो ध्यानाकर्षण

काठमाडौं । काठमाडौं महानगरपालिकामा समायोजनका नाममा संघ तथा प्रदेशबाट निजामती कर्मचारीलाई सरुवा गरि निरन्तर पठाईरहँदा यतिखेर महानगरमा समायोजनका कर्मचारी कै भरिभराउ हुन थालेको छ । समायोजनका नाममा जर्वजस्ती कामपामा कर्मचारी ल्याउन थालिएपछि स्थानीय तह कर्मचारी संघ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल समक्ष १४ बुँदे माग सहित सुझाव पत्र पेश गरेको छ ।

महानगरले काठमाडौं महानगरबासीहरुलाई उपलब्ध गराउने सेवा, कर्मचारीहरुको बृत्ति विकासकालाई वास्तै नगरी समायोजनका नाममा दरवन्दी भन्दा बढी कर्मचारी ल्याएको र त्यसलाई तत्काल रोक्नु पर्ने लगायतका विभिन्न माग राखी स्थानीय निकाय कर्मचारी संघका अध्यक्ष शम्भु बरालको नेतृत्वको प्रतिनिधि मण्डलले पौडेल समक्ष माग पत्र हस्तान्तरण गरेको हो । सुझाव पत्र हस्तान्तरण गर्नु अघि पत्रमा उल्लेख गरिएका मागहरु अध्यक्ष बरालले प्रस्तुत गरेका थिए ।

कर्मचारी संघले पेश गरेको सुझाव पत्र ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले महानगरपालिकाले हुने कुनै पनि गतिविधि कानूनको दायरा भित्र रही सम्पन्न हुँदै आईरहेको बताए । उनले महानगरपालिकामा कार्यरत कुनै पनि कर्मचारीलाई नकारात्मक असर पर्ने गरी समायोजन नगरिने बताउँदै कानून बमोजिम कार्यहरुका लागि काठमाडौं महानगरपालिका प्रतिवद्ध रहेको जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाको पछिल्लो नगरसभाले स्वीकृत गरेको दरबन्दी अनुसार कर्मचारी व्यवस्थापन हुनपर्नेमा सो नभएको भन्दै कर्मचारी समायोजनका नाममा महानगरमा अत्यधिक कर्मचारी संघ र प्रदेशबाट पठाईएकाले त्यसलाई व्यवस्थिति गर्न आफूहरुले ध्यानाकर्षण गराएको अध्यक्ष बरालको भनाई थियो ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र बसोबास गर्नु हुने नगरबासीहरुले खेप्नु परेको फोहोर मैला व्यवस्थापनको समस्या, स्वास्थ्य क्षेत्रमा देखिएका समस्या एवं कर्मचारीहरुको सेवा लगायतका विषयहरु माग पत्रमा समावेश गरिएका छन् ।