आवश्यकताअनुसार सुपारी आयातको अनुमति पाउँछ : मन्त्री बडू

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगले आवश्यकताअनुसारको कच्चा पदार्थ सुपारी आयातको अनुमति पाउने बताएका छन् ।

आज प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले उद्योगको आवश्यकताअनुसार नै सरकारले सुपारी आयातको अनुमति खुलाएको बताएका छन् ।

मन्त्री बडुले व्यवसायीले कच्चा पदार्थ ल्याउने तर उद्योगीले आवश्यक कच्चा पदार्थ नपाउने गुनासो बढेपछि सरकारले औद्योगिक प्रयोजनका लागि मात्र सुपारी आयातको अनुमति दिइएको जिकिर समेत गरेका छन् ।

उद्योगीको गुनासोपछि हामीले कच्चा पदार्थ आवश्यक पर्ने उद्योगलाई मात्र कच्चा पदार्थ आयातको अनुमति दिनुपर्छ भनेर नै तोकेका हौँ । यसअघिको सरकारले अपारदर्शी निर्णय गर्दा अहिले समस्या देखिएको हो, हामीले आयातलाई व्यवस्थित गर्दैछौँ, कच्चा पदार्थ नपाएकै कारण कुनै पनि उद्योग बन्द नहुने मन्त्री बडुलको भनाई रहेको छ ।

उनले सरकारले सुपारी आयातलाई व्यवस्थित गर्ने काम गरिरहेको भन्दै आयात खुलाउनुपर्नेमा जोड दिएका छन् । समितिले अध्ययन गर्ने भन्दै सुपारी आयातको अनुमति रोकेको रहेछ । तपाईँहरूले अध्ययन गरिसक्नुभयो, सुझाव भए केही पाऊँ, होइन भने अहिले रोकिएको आयात खुलाऊँने समेत भनेका छन् । उनले आयात खुलाउनुपर्ने माग गरेपछि समितिका सभापति विमल श्रीवास्तवले आइतबार थप छलफल गरेर थप निर्णय गरिने बताए ।

गत चैत २३ गते समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, उद्योग विभाग र वाणिज्य विभागका महानिर्देशकसँग छलफल गर्दै तत्काल सुपारीको आयात रोक्न निर्देशन पनि दिएको थियो ।

समितिको निर्देशनअनुसार वाणिज्य विभागले हाल सुपारी आयातको अनुमति भने रोकेको छ । समितिको बैठकमा सहभागी पान तथा गुट्खा उद्योगका प्रतिनिधिले कच्चा पदार्थ नहुँदा उद्योग बन्द हुने अवस्थामा पुगेको बताएका थिए ।

श्रीराम टोबाको उद्योगका प्रतिनिधि रघु घिमिरेले पर्याप्त मात्रामा सुपारी नहुँदा उद्योग बन्द हुने अवस्थामा पुगेको बताए । हामीसँग १० दिनका लागि पुग्ने सुपारीको मौज्दात छ, सहज रूपमा सुपारी आयात गर्न नपाउँदा क्षमताभन्दा कम गुट्खा उत्पादन गरेर अन्य जनशक्ति सुपारी खोज्न लाग्नुपरेको उद्योगका प्रतिनिधि रघु घिमिरेको भनाई रहेको छ । हामीले हाम्रो जनशक्तिलाई झापाका सुपारी किसानको घरघरमा पुर्‍याएका छौँ । किसानको घरघरमा गएर ल्याएको सुपारीले हाम्रो उद्योग धानेको समेत बताएका छन् ।

देशभर ६० हजार पान पसलले एक लाख २५ हजारलाई रोजगारी दिएको छ, सुपारी नहुँदा उनीहरूको रोजगारी जान सक्ने पान व्यवसायी सङ्घका अध्यक्ष टेकबहादुर अधिकारीले बताएका छन् ।