अमेरिकाको नेपाललाई ७९ अर्ब ७१ करोड अनुदान सहयोग

काठमाडौँ । अमेरिकाले नेपाललाई वैदेशिक रुपमा अनुदान दिने भएको छ । संयुक्त राज्य अमेरिकाको विकास सहयोग नियोग यूएसएआईडीले नेपाललाई ७९ अर्ब ७१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैङ्कको १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने तथा संयुक्त राज्य अमेरिकाको विकास सहयोग नियोग यूएसएआईडी ले दिने करिब ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका भएको निर्णयहरू सार्वजनिक गदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले दुई दिन बिदा दिने वा नदिने भन्ने विषयमा छलफल भए पनि कुनै निर्णय नभएको जानकारी दिएका छन् ।

प्रवक्ता कार्कीले बैठकमा सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा पुष्पराम केसीलाई बढुवा गर्ने निर्णय भएको जानकारी गराएको छ । बैठकले राष्ट्रिय आवास कम्पनीका अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको पनि उनले जानकारी दिएका छन् ।