गोठमा आगलागी हुँदा सुतिरहेका बालकको मृत्यु

काठमाडौँ । सप्तरीको बोदे बर्साइन नगरपालिकामा गोठमा आगलागी हुँदा सुतिरहेका बालकको जलेर मृत्यु भएको छ ।

बोदे बर्साइन नगरपालिका १० अमरैया टोलमा आज अपराह्न आगलागी हुँदा शत्रुघन यादवका पाँच वर्षीय छोरा शैलेश यादवको जलेर मृत्यु भएको सप्तरी प्रहरीले जानकारी दिइएका छन् । शत्रुघनकै गोठमा आगलागी हुँदा गोठमा सुतिरहेका बालकको मृत्यु भएको प्रहरीले बताएका छन् ।

आगलागीमा शत्रुघन, मिन्टु यादव र ओम यादवको सगोलको गोठ, रघुनन्दन यादवको घर, जागेश्वर यादवको पक्की घरको झ्याल जल्दा १६ लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताएका छन् ।

शत्रुघनको गोठबाट रघुनन्दन यादव र जागेश्वर यादवको घरमा आगो सल्किएको स्थानीयवासीले बताए । आगलागीलाई एक घण्टाको प्रयासमा स्थानीय बासिन्दा, नेपाल तथा सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएको बताएका छन् ।