राजधानीका विभिन्न स्थानमा थुप्रिएको फोहर नदीमा मिसिदा, नाक थुनेर हिँड्नुपर्ने बाध्यता

काठमाडौँ । काठमाडौँ उपत्यकामा १० वर्षदेखि सर सफाइ अभियान जारी रहे पनि नदी ढलमुक्त हुननसक्दा नदीमा फोहोर मिसिन छाडेको छैन । उपत्यकाका सडक, चोक र नदी किनारमा फोहरको थुप्रो लाग्दा यहाँको सभ्यताको स्रोतका रूपमा स्थापित वाग्मतीलगायत नदीमा सिधै फोहार मिसिन थालेको छ ।

नदीमा सिधै फोहर मिसिन थाले पनि वाग्मतीलगायत काठमाडौँ उपत्यकाका नदी सफाइ अभियान भने जारी रहेको छ । सफाइ अभियानकर्मीले प्रत्येक हप्ता शनिबार बिहान स्वयंसेवा गर्दै सफाइ गर्छन् । सात दिनसम्म राजधानीका विभिन्न स्थानमा थुप्रिएको फोहर भने नदीमा मिसिन्छ । नदी किनारमा हिँड्दा नाक थुनेर हिँड्नुपर्ने अवस्था अझै पनि छ । फोहर व्यवस्थापनमा काठमाडौँ महानगरपालिकालगायत राजधानीका अन्य स्थानीय तह सफल हुनसकेका छैनन् । फोहर व्यवस्थापन स्थानीय सरकारको प्राथमिकतामा परेको छैन ।

अभियानकर्मीले प्रत्येक हप्ता शनिबार बिहान २ घण्टा नदीमा गएर सफाइ गरे पनि फोहर व्यवस्थापनमा स्थानीय सरकारले ठोस नीति निर्माण गरेका छैनन् । जसका कारण अन्य देशका नागरिकको समेत पहिलो आँखा जाने राजधानी सहर प्रदूषित र दुर्गन्धित बनेको छ । सरोकार निकायको भने यसतर्फ ध्यान जान सकेको छैन । गर्मी बढ्दै गएकाले ठाउँ, ठाउँमा थुप्रिएको फोहरबाट रोगको महामारी फैलनेतर्फ सम्बन्धित पक्षको ध्यान नगएको धुलिखेल अस्पतालका डा रोशन पोखरेल बताएका छन् ।

वाग्मती सफाइ महाअभियानको ४६६औँ हप्ता र तिलगङ्गा सफाइ अभियानको ३६६औँ हप्तामा शनिबार तिलगङ्गा पहेँलो पुलमा सफाइ गरेको छ । सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिएका छन् । सफाइमा प्रमुख अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, तिलगङ्गा महिला समूह, रोयल बहुउद्देश्यीय सहकारी संस्थाबाट ५० जनाको समूह, सिभिल क्यापिटल मार्केटस् प्रालिबाट ११ जनाको समूह, वाग्मती फोहर उन्मूलन उपभोक्ता समिति, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारी, स्थानीयवासी एवं वाग्मती अभियानकर्मीको सहभागिता रहेको किशोरसिंह शाहीले जानकारी दिएका छन् ।

अर्को हप्ता ४६७औँ हप्ताको सफाइ सिनामङ्गल पुलको नदी किनारमा गरिने जानकारी गराएको छ । २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान २ घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु भईरहेको छ । हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ ।

काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिर १०९ स्थानमा सफाइ भइरहेको जानकारी गराएको छ । गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जानकारी गराएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको छ ।

अभियानकर्मीको सक्रियतामा देशव्यापीरूपमा सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारको पनि हुनुपर्ने जति सहयोग भएको छैन । फोहर व्यवस्थापन स्थानीय सरकारकै दायित्व भए पनि काम गर्ने रुचि देखाएका छैनन् । देशको राजधानी काठमाडौँ उपत्यकामा एक महिनाभन्दा लामो समयदेखि फोहर उठेको छैन । सांस्कृतिक सहरका रूपमा समेत विश्वमा परिचित काठमाडौँमा फोहर नउठ्दा पर्यटकमा पनि नकारात्मक सन्देश गएको छ ।

गोकर्णेश्वर नगरपालिकाले ३ वर्षअघि ल्याएको फोहर जलाउने आधुनिक यन्त्र गत हप्ता मात्र जडान भएको छ । नगर क्षेत्रमा यन्त्र जडान गर्न स्थानीयवासीले रोक लगाएपछि काठमाडौँ महानगरपालिका, ८ स्थित वाग्मती नदी किनारमा यन्त्र जडान गरिएको छ । यन्त्रबाट फोहर जलाउँदा वातावरणमा के प्रभाव पर्छ भन्ने अध्ययन भने भए नभएको स्पष्ट पारिएको छैन ।