एसईईको परीक्षा वैशाख ९ गतेबाट, सबैभन्दा धेरै केन्द्र काठमाडौँमा

काठमाडौँ । एसईईको परीक्षा वैशाख ९ गतेबाट सुरु हुनेभएको छ । कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो । यसअघि कोभिड १९ को सङ्क्रमण बढेपछि २ पटक एसईई आन्तरिक मूल्याङ्कनबाटै सम्पन्न गरिएको थियो ।

एसईई परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका सामग्री सम्बन्धित जिल्लाहरुमा पुराइसकिएको छ । यस वर्ष मुलुकभर २ हजार सातवटा केन्द्रमा परीक्षा सञ्चालन हुनेभएको छ । राष्ट्रिय परीक्षाबोर्डका परीक्षा नियन्त्रक कक्षा अर्जुनबहादुुर रायमाझीका अनुसार अहिले जिल्ला स्तरमा परीक्षाका केन्द्राध्यक्षलाई अभिमुखीकरण दिने कार्य भइरहेको बताएका छन् ।

सबैभन्दा धेरै केन्द्र काठमाडौँमा रहनेछन् जहाँ १२० वटा केन्द्र तोकिएको छ । सबैभन्दा कम केन्द्र मनाङमा रहेको छ । मनाङमा एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ । यस वर्ष ५ लाख १४ हजार ७६० एसईईमा परीक्षार्थीहरु सहभागी हुनेछन्, जसमा नियमिततर्फ ४ लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुँदैछन् ।

शिक्षा मन्त्रालयले एसईईमा सहभागी हुन परीक्षार्थीको उमेर १४ वर्ष पूरा हुनैपर्ने प्रावधान हटाएको छ । उनले भने नयाँ नियम भएका कारण यस वर्ष केही परीक्षार्थीलाई सहज भएको छ । यो व्यवस्थाबाट दुई तीन सय परीक्षार्थी लाभान्वित हुने अपेक्षा गरेका बताएका छन् । यसै वर्षदेखि मन्त्रालयले सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फ समग्रमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने व्यवस्था गरेको छ ।