विद्यालयको छानो उडाउँदा विद्यार्थीको बिचल्ली

काठमाडौँ । दाङ जिल्लामा विद्यालयको छानो उडाउँदा विद्याथीको बिचल्ली भएको छ । तुलसीपुर उपमहानगरपालिका, ३ स्थित प्रतापकोट माविको छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएको छ । छानो उडाएपछि एक सातादेखि विद्यालयको पठनपाठन अहिे ठप्प बनेको छ ।

चैत ३० गते रातिको आएको हावाहुरीले जस्तापाताले छाएको छानो उडाएको हो । विद्यालयका प्रधानाध्यापक फष्टबहादुर राणाका अनुसार तीनवटा कक्षाको पठनपाठन जस्तापाताको छानोमुनि हुँदैआएको थियो । अहिले विद्यार्थी चर्को घाममा बसेर परीक्षा दिन बाध्य भएका छन् भने परीक्षासमेत प्रभावित भएको छ । नियमित कक्षा सञ्चालन गर्न समस्या भएको प्रधानाध्यापक फष्टबहादुर राणाले बताएका छन् ।

कक्षा ४, ५ र ६ का विद्यार्थीहरु छाप्रोमा नै पढ्नुपर्ने अवस्था थियो । २०२८ मा स्थापना भएको विद्यालयको भवन जीर्ण छ । पुरानो भवन भत्काएर नयाँ निर्माण गरिँदै छ । विद्यालय भवन निर्माण पूरा नहुँदा पठनपाठनमा बाधा पुगेको प्रधानाध्यापक राणाले बताएका छन् । गत कात्तिकमा भवन भत्काएर नयाँ निर्माण थालिएको हो । छाया नेपालले सँगसँगै निर्माण थालेको तुलसीपुर, ७ कालाखोलास्थित भवनको काम अन्तिम चरणमा पुगेको छ तर, अम्बासको भवन निर्माणको काम भने सुस्त गतिमा रहेको बताए ।

१ करोड ४३ लाखको लागतमा ८ कोठाको भवन निर्माण गरिँदै छ । कक्षा १० सम्म सञ्चालित उक्त विद्यालयमा हाल २४५ विद्यार्थी अध्ययनरत छन् । विद्यालयका प्रअ राणाका अनुसार असार मसान्तसम्म सक्ने गरी सम्झौता भए पनि विद्यार्थीको पठनपाठनलाई मध्यनजर गरी छिट्टै पूरा गर्ने गरी अगाडि बढ्ने विश्वास दिइएको बताएका छन् ।