कैलालीमा उम्मेदवारी मनोनयन शान्तिपूर्ण रुपमा सम्पन

काठमाडौँ । कैलाली जिल्लामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन शान्तिपूर्ण रुपमा भएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लाका १३ वटै पालिकामा निर्वाचनको लागी उम्मेदवारी मनोनयन शान्तिपूर्ण रुपमा भइरहेको जानकारी दिएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलले भने सोमबार मात्रै उम्मेदवारी दर्ता गराउने भएको छ । विभिन्न दलका उम्मेदवार बाजागाजा, नाचगानसहित जुलुस प्रदर्शन गर्दै उम्मेदवारी मनोनयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीमा पुगेका थिए ।

धनगढी उपमहानगरको प्रमुखमा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराउने तयारीमा रहनुभएका नेता रणबहादुर चन्दले आफूहरुले सोमबार मात्रै उम्मेदवारी दर्ता गराउने बताए । दलहरुले सबै तहमा उम्मेदवारको टुङ्गो लगाउन नसक्दा उम्मेदवारीको मनोनयन दर्तामा ढिलाइ भएको जानकारी गाराएका छन् ।

नेपाली कांग्रेसका जिल्ला सचिव नृप सुनारले गठबन्धन दलबीच सबै तहमा साझा उम्मेदवार बनाउनेबारे भइरहेको छलफलमा सहमति जुटाउन समय लागेकाले उम्मेदवारी दर्तामा ढिलाइ भएको बताएका छन् । उनले भने , छलफल जारी भए पनि पालिकाको पदमा सहमति जुटाउन समस्या भइरहेको छ, साँझसम्म सहमति जुटाउने प्रयास भइरहेको जानकारी गराएका छन् ।