लक्ष्मीभक्त एक अनुभवी र पाको नेता : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लक्ष्मीभक्त उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेका छन् । उपाध्यायको निधनप्रति आज शोक वक्तव्य जारी गर्दै ओलीले आजीवन कम्युनिष्ट आन्दोलन र पार्टीमा सक्रिय रहँदै योगदान दिने नेतामध्ये अग्रणी रहनुभएका उपाध्यायको निधनबाट कम्युनिष्ट आन्दोलनले पहिलो पुस्ताको पाको, अनुभवी अभिभावक र निरन्तर आन्दोलनमा लागिरहेको प्रतिबद्ध नेता गुमाएको दुखेसो पोखेका छन् ।

उपाध्यायले २००७ सालको क्रान्तिबाट आफूलाई राजनीतिमा संलग्न गराउँदै कम्युनिष्ट पार्टीका विभिन्न घटकको नेतृत्व तहमा रहेर काम गरेको वक्तव्यमा जनाइएको छ । उहाँ १९८७ साल वैशाख १२ गते तनहुँ जिल्लाको रिसिङ रामजाकोटमा पिता पूर्णकान्त उपाध्याय लम्साल र आमा विद्याकुमारी लम्सालको कोखबाट जन्मिएका थिए ।

नेकपामा विभिन्न महाधिवेशन र सम्मेलनमा भाग लिनुका साथै संस्थापक महासचिव पुष्पलालको सामिप्यमा रहेर उपाध्यायले निरन्तर कम्युनिष्ट आन्दोलनमा पुराएको योगदानको पार्टीले स्मरण गरेको अध्यक्ष ओलीले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।