चुनावमा आचारसंहिता उल्लङ्घनका घटना बढ्न थाले

काठमाडौ । पर्वत जिल्लामा वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनमा आचार संहिता पालनामा कडाइ गरिने भएको छ । चुनावमा आचारसंहिता उल्लङ्घनका घटना बढ्न थालेपछि कडाइ गर्न थालिएको हो ।

आचारसंहिता अनुगमन समिति पर्वतले यहाँ बसेको बैठकमा आचार संहिता उल्लंघनका मौखिक र उजुरी आएपछि कडाइ गर्ने निर्णय गरेको छ । दल तथा स्वतन्त्र उमेदवारले भड्किलो प्रचार शैली अपनाउन थालेपछि यसलाई रोक्न सोमबार देखिनै कडाइ गरिने मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले बताएका छन् । उलङ्घनका घटना बढेको भनेर मौखिक उजुरी धेरै आएको हुँदा स्थानीय चुनावमा उल्लङ्घन हुन नदिन कारवाही गर्ने निर्णय गरेका बताए ।

पर्वत जिल्लाका विभिन स्थानमा निर्वाचनको प्रचारका क्रममा सवारी साधनमा चर्को स्वरमा प्रचारसामाग्री बजाउने, ठुला ठुला बोर्डहरु राख्ने तथा सवारी साधनमासमेत ठूला झण्डा, ब्यानर राखेर प्रचार गर्ने काम भइरहेको छ । सदरमुकाम कुस्माबजारमा उमेदवारले धेरै सवारी साधनमा प्रचारसमाग्री बजाउँदा ध्वनी प्रदुषण र जनजीवनसमेत प्रभावित भएको छ ।

जिल्ला प्रहरी कार्यालयले आचारसंहित उल्लङ्घनका काम नर्गन भन्दै आइतवार बजार क्षेत्रमा माइकिङ गरेको छ । शुरुमा उल्लङ्घनका घटना नगर्न आग्रह गरिएको र अब त्यसो गरेको पाइएमा प्रहरीले कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी शिबराज बुढाथोकीले बताएका छन् । आचारसंहिता विपरित प्रयोग भएका सामाग्री प्रहरीले नियन्त्रणमा लिने उनले जानकारी दिइए ।